
पूर्णपुष्टि, फागुन २४ ।
उदयपुरमा रुखबाट लडेर एक जना महिलाको ज्यान गएको छ । जिल्लाको त्रियुगा नगरपालिका–११ करमगाछी घर भएकी ५५ वर्षीया कालुमाया राईको सोमबार घाँस काट्ने क्रममा लडेर ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार राई बरुवा सामुदायी जंगलभित्र घाइते अवस्थामा भेटिएकी थिइन् । घरबाट घाँस काट्न जंगल पुगेकी राई भोर्लाको रुखबाट लडेर घाइते भएकी थिइन् ।

उनलाई उद्दार गरी बोक्सेस्थित जिल्ला अस्पताल उदयपुर लैजादैँ गर्दा ज्यान गएको डीएसपी गौतमको जानकारी दिए । घटनापछि मृतकको शव जिल्ला अस्पतालमै पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धानसमेत भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
