
पूर्णपुष्टि, असार ६ । उदयपुरमा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । यो दिवस जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइनेछ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेम प्रसाद लुइटेलले जिल्लामा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिने बताउनुभयो । अधिकारी लुइटेलका अनुसार पहिलो दिन शुक्रबार जिल्ला प्रशासन कार्यालयको सभाहलमा दिवसको शुभारम्भ गरी लागूऔषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको छ ।
असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिका क्षेत्रका स्कूल तथा कलेजमा लागूऔषध विरुद्ध सचेतना कक्षा सञ्चालन गरिनेछ । असार ८ देखि ११ गतेसम्म जिल्लाको त्रियुगा र बेलका नगरपालिकामा रहेका २ वटा लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्रको विवरण, उपचारार्थ संख्या, उपचार पश्चात् निको भएर घर गएको संख्या आदि विवरण संकलन एवम् सार्वजनिकीकरण गरिनेछ ।
असार १० देखि १२ गतेसम्म त्रियुगाको लालपत्ता नाका, बेलकाको चतरा कोठु नाका र कटारीको सिन्धुली सिमराही र सिरहा जोध्ने बेलस्रोत नाकामा लागूऔषध ओसारपसार हुने सीमा नाकाको निरीक्षण गरिनेछ । असार ११ गते लागूऔषध दुर्व्यसनमुक्त समाज निर्माणका लागि युवा र समाजको भूमिका विषयक माविस्तरीय वक्तृत्वकला र त्रियुगा जनता बहुमुखी क्याम्पसमा लागूऔषध दुर्व्यसनी नियन्त्रण सम्बन्धी अनुशिक्षण सञ्चालन गरिनेछ ।
अन्तिम दिन गाईघाटको पिपल चोकमा सबै सरोकारवालासहित उपस्थित भएर नगर परिक्रमा गरी सप्ताहव्यापी दिवसको समापन गरिने अधिकारी लुइटेलले बताए ।
