
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरमा शुक्रबार बिहान अविरल वर्षासँगै आएको हावाहुरीले विभिन्न स्थानहरुमा रहेका विद्यालय, घर तथा घरको छानोहरु उडाई अन्दाजी १८ लाख २० हजार रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरगढी गाउँपालिका वडा नं. ६ जगेटारस्थित श्री माध्यमिक विद्यालय नेपालटारको जस्तापाताको छाना उडाएर अन्दाजी ३ लाख रुपैयाँको क्षति भएको छ । चौदण्डीगढी नगरपालिका वडा १० खैराझोडाका अधिकांश घरहरुमा समेत व्यापक क्षति पुगेको छ । स्थानीय गिता पाण्डेको बाँस र खरले बनेको भुइँतल्ले घरको छानो उडाई ५० हजार, नवराज दुलालको दुइ तल्ले घरको छानो उडाई ३ लाख ५० हजार, भरत राउतको भुइँतल्ले घरको छानो उडाई २ लाख रुपैयाँको क्षति भएको छ ।
यसैगरी सुभाष अधिकारीको एक तल्ले घरको छानो उडाई र घरमा संचालित किराना पसलका सामानहरू समेत नोक्सानी हुँदा २ लाख रुपैयाँको क्षति पुगेको छ । सम्भव अधिकारीको घरमा १ लाख ५० हजार, खगिन्द्र श्रेष्ठको घरमा २ लाख, र धुर्व खत्रीको घरमा ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्रियुगा नगरपालिका वडा १३ सरस्वति टोलका हर्क श्रेष्ठको टिनको छाना तथा बाँसको टाटीबेरा भएको भुइँ घरको छानो उडाई ७० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
