
पूर्णपुष्टि, जेठ ५ ।
उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् ।
आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भयो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । चारदिनअघि जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो ।
मृतकहरु मध्ये दुईजनाको उदयपुरको अस्पतालमै ज्यान गएको हो भने बाँकीको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् ।
पछिल्लो दुई मृतकहरुमा त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अहिले सम्म कोरोनाले त्रियुगाका ११, चौदण्डीगढीका ३, बेलकाका १ र कटारीका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।
संक्रमितको अग्रता त्रियुगा नगरपालिकामा जारी छ । जिल्लाको ४७६ संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगामा २४५ जना रहेका छन् । मृत्यु हुनेको संख्या पनि त्रियुगामा सबैभन्दा बढि छ । जिल्लाको १६ जना मृतक मध्ये ११ जना त्रियुगाकै हुन् ।
त्रियुगालाई पछ्याउदै बेलका नगरपालिकामा ७६ जना संक्रमित छन् । चौदण्डीगढी नगरपालिकामा ६१ जा संक्रमित भए । कटारी नगरपालिकामा ५० जना संक्रमित भए, उदयपुरगढी र रौतामाईमा १५÷१५ जना, लिम्चुङबुङमा १३ र ताप्लीमा १ जना स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।
त्रियुगा पछि मृत्यु हुने बढिसंख्या चौदण्डीगढीमा छ । चौदण्डीगढीका ३ जना, कटारीको १ र बेलका नगरपालिकामा आज पहिलो पटक १ जनाको मृत्यु भएको हो ।
देशभर कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १७३ जना थपिएको हो । नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ । पछिल्लो २४ घण्टामा २४६ जनाले ज्यान गुमाएका छन् । देशमा निको हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जनाले कोरोनालाई जितेर निको भएको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ ।
विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ४९ लाख ०४ हजार ०७८ पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख १८ हजार ७६२ पुगेको छ । विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड ३८ लाख ६७ हजार ००९ पुगेको छ ।
