
पूर्णपुष्टि, बैशाख २३ । उदयपुर जिल्लामा विपद् जोखिम कम गर्ने उद्देश्यले १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । शुक्रबार शसस्त्र प्रहरी बल नं. ५ गण हेडक्वाटर त्रियुगाको आयोजना तथा बेलका नगरपालिकाको सहयोगमा समुदाय विपद् स्वयंसेवक तालिम सुरु गरिएको हो ।
बेलका नगरपालिका वडा नं. ९ रामपुरस्थित नगरपालिकाको सभाहलमा आजदेखी सुरु भएको तालिममा ९ वटा वडाबाट छानिएका ४८ जनालाई १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम दिईएको हो । यस तालिमले स्वयम सेवक तालिम विपद् पूर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा स्थानीय समुदायलाई सक्षम बनाउने छ ।
नेपाल सरकार गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको समुदाय विपद् स्वयंसेवक तालिमको योजना अनुसार तालिम सुरु गरिएको हो । उदयपुर जिल्लाका प्रत्येक पालिकाको प्रत्येक वडाबाट २५–२५ जनालाई व्यावहारिक अभ्यास सहितको तालिम प्रदान गरिने छ । यसले जिल्लाभरि विपद् स्वयंसेवकहरूको व्यापक सञ्जाल निर्माण गर्ने लक्ष्य राखेको छ । विशेष गरी, प्रत्येक वडामा विपद् सूचक तयार गरी तत्काल सूचना प्राप्त हुने गरी संयन्त्र निर्माण गर्ने योजना रहेको छ ।
तालिमको मुख्य उद्देश्य विपद् पूर्वको सूचना प्रणाली सुदृढीकरण र तत्काल उद्धार कार्यमा सहयोग पुर्याउने क्षमता विकास गर्नु रहेको छ । तालिमले सहभागीहरूलाई विपद् जोखिम पहिचान, पूर्व तयारी, प्रतिकार्य र पुनर्निर्माणका विषयहरूमा व्यावहारिक ज्ञान प्रदान गर्नेछ ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, पशुपति गण उदयपुरका प्रमुख सेनानी शिव प्रसाद वाग्ले, जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी हरिनाथ योगि, राष्ट्रिय अनुसन्धान विउरो उप–निर्देशक कुमारी बुढाथोकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकरण आचार्य लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


