
पूर्णपुष्टि, माघ १३
उदयपुरमा एक ६ महिने नवजात शिशुको शव खोलामा फालिएको अवस्थामा फेला परेको छ । जिल्लाको बेलका नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्गदेखि दक्षिण जरायो खोलामा शिशुको शव फेलो परेको हो ।
स्थानीयले शिशुको शव बुधावार बिहान १० बजेतिर देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाए लगतै इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाको टोली घटनास्थल पुगेको थियो । जहाँ जरायो खोलाको दलदल क्षेत्रमा शिशुको शव छाडेर गएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

परिचालन गरिएको प्रहरी पुग्दा घटनास्थलमा एउटा जेब्रा झोलासमेत भेटिएको थियो । सो झोलाभित्र बिभिन्न औषधीहरु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेदप्रसाद गौतमले बताउनुभयो ।
जेब्रा झोलाभित्र भेटिएको औषधी सोही शिशुलाई उपचारको क्रममा प्रयोग गर्ने गरेको हुनसक्ने अनुमान गरिएको छ । मृत भेटिएको शिशु नवजात अर्थात तत्कालै जन्मने बित्तिकैको नरहेकाले उपचारको क्रममा बचाउन नसकेपछि कसैले आफूलाई सम्हाल्न नसक्दा छाडेर गएको हुनसक्ने स्थानीयको अनुमान छ ।

पानी जमेको ठाउँमा भेटिएको शिशुको शव अहिले पोष्टमार्टमका लागि सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ । स्वास्थ्य रिपोर्ट आएपछि थप जानकारी प्राप्त हुने डीएसपी गौतमले जानकारी दिनुभयो ।
जरायो खोला तथा सेती खोला क्षेत्र वरपरका सबै स्थानीयसँग बुझ्दा सो गाउँको बच्चा नभएको स्थानीयको भनाई छ ।

