Tuesday, June 9News That Matters

उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी

पूर्णपुष्टि,वैशाख १३

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा गर्ने तयारी भएको छ । सोमबार बिहान काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने तयारी गरिएको स्रोतले जनाएको छ ।

खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी तथा सार्वजनिक यातायात पनि बन्द गर्ने भएको छ । त्यस्तै शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्चालनमा पनि रोक लगाउने तयारी छ ।

आइतबार कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा गर्न सुझाव दिएको थियो । सोमबार उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।