Saturday, June 6News That Matters

डोल्पाको केहि विद्यालयद्धारा वार्षिक परीक्षाफल सार्वजनिक

पूर्णपुष्टि, कात्तिक २३ 

उपल्लो डोल्पाको केही विद्यालयले बार्षीक परीक्षा सकेर नतिजा सार्वजनिक गरेको छ । उपल्लो डोल्पाको तीन मध्ये दुई वटा पालिकाका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सार्वजनिक गरेको हो ।
डोल्पोबुद्धका वडा नम्बर २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत बाल विकास केन्द्र र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । वडा नम्बर ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ ।

गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ । अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन वटा पालिकाका सबै विद्यालयमा फागुनमा शैक्षिक सत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ ।
नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको छ । यो वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो । यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका चार विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् ।

तीन विद्यालयले कोरोनाका कारण तीन महिना विद्यालयमा पठनपाठन बन्द गरेर अहिले परीक्षा गरी विद्यालय बन्द गरेको जनाईएको छ । शे फोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको जनाएको छ ।

जसरी भए पनि १२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।