
पूर्णपुष्टि, १३ फागुन ।
लिम्चुङबुङ गाउँपालिकाले सुरु गरेको एउटै पुस्तामा समृद्ध पालिकाको माहाअभियानमा उदयपुरको थप दुई पालिका पनि जोडिएको छ । जिल्लाको रौतामाई गाउँपालिका र ताप्ली गाउँपालिका पनि समृद्ध पालिकाको लागि माहाअभियानमा जोडिएको हो । लिम्चुङबुङले गत मंसिर २५ गते “एउटै पुस्तामा समृद्ध पालिका” को माहाअभियानलाई भव्य कार्यक्रम सहित घोषणा गरेका थिए ।
सोही अभियान सफल बनाउन पालिका अध्यक्ष मेजर कुमार राई यतिवेल कठोर संघर्षमा उत्रिएको छ । अध्यक्ष राईले यस अभियानलाई बिज्ञापनको रुपमा प्रचार गर्नुका साथै सम्बन्धित ठाउँहरुमा आवश्यक साथ सहयोगको मागलाई निरन्तर बनाएको छ । यसै अभियानलाई आत्मसाथ गर्दै सँगैको छिमेकी पालिकाहरु रौतामाई र ताप्ली पनि अभियानमा जोडिएको हो । शनिवार ताप्ली गाउँपालिकाको रुपाटारमा तिनै ओटा पालिका अध्यक्षहरुको उपस्थितिमा समृद्ध पालिकाको लागि बृहत छलफल भएपछि रौतामाई र ताप्ली पनि अभियानमा थपिएका थिए ।
ताप्लीका अध्यक्ष ढुँगराज बिकको अध्यक्षतामा बसेको पालिका अध्यक्ष स्तरीय बैठकले लिम्चुङबुङको अभियानलाई साझा अभियानको रुपमा लिएर अब तिन पालिका सँगै अघि बढ्ने बैठकमा निर्णय भएको जनाईएको छ । अध्यक्ष बिकले सडकलाई मुख्य ऐजेन्डा बनाई अब तिन पालिका समृद्धको अभियानमा लागि परेको जनाए । उनले मुख्यतया सडक कालोपत्रे नै तिन पालिका समृद्धको मुख्य पाटो बन्न सक्ने जनाए । लिम्चुङबुँङ, रौतामाई र ताप्ली एक आपसमा छिमेकी पालिका समेत रहेको हुँदा आवश्यक सहमतले उदेश्य पुरा हुनेमा ढुक्क रहेको अध्यक्ष बिकको भनाई छ ।
रौतामाई हुँदै लिम्चुङबुङ पुगिने र सँगै ताप्ली पनि सोही सडकबाट जान सकिने हुँदा अभियानलाई साझा बनाउन सहज भएको जनाईएको अध्यक्षहरुको भनाई छ । रौतामाई गाउँपालिकाका अध्यक्ष बिरेन्द मगरले माहाअभियान सँग जोडिन पाउँदा बिकासमा ठेवा पुग्ने विश्वास बढेको जनाएको छ । सडकको गन्तव्य एउटै रहेको हुँदा शक्तिहरु मिलाएर काम गर्दा भोली उदेश्य पुरा गर्न सहज बन्ने अध्यक्ष मगरको बुझाई छ ।
लिम्चुङबुङका अध्यक्ष मेजर कुमार राई भने तिन पालिकाको बैठक पछि उत्साहित छन् । हिजो एक्लै लडिरहेको अभियानमा पछिल्लो समय सबै निकायहरु अभियानमा जोडिँदै गएको उनले जनाए । अहिले छिमेकी पालिकाहरु पनि अभियानमा जोडिए पछि राई उत्साहित बनेको हो । अब तिनै पालिकाको एजेन्डाको रुपमा रहेको आवश्यक पूर्वधारको निम्ति तिनै अध्यक्षहरु कठोर संघर्षमा उत्रिने राईले जनाए ।
