
पूर्णपुष्टि, असार १७
एकान्तमा भेटिने महिलाहरुमाथि अभद्र व्यवहार गर्ने एकजना युवकलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रामेछाप सुनापती गाउँपालिका–५ रुपाकोट स्थायी घर भइ हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्दै आएको ३६ वर्षीय चमार सिं तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
गत असार ४ गते भक्तपुरस्थित एक रेडियोमा काम गर्ने महिला पत्रकार बिहान ६ बजेको समाचार पढ्न रेडियोतर्फ आउँदै थिइन् ।
घरबाट निस्केर अरनिको राजमार्ग सूर्यविनायक नजिकै पुग्दा उनले नसोचको घटना भयो । एक युवकले उनलाई अभद्र व्यवहार देखाए । महिला पत्रकारले प्रतिकार गर्दै आफ्नो मोबाइल निकालेर तस्बिर लिन खोजेपछि युवक फरार भएका थिए ।
उनले प्रहरीमा उजुरी दिइन्, तर पनि भक्तपुरमा महिलाहरूमाथि हुने उक्त कार्य रोकिएन । अन्ततः असार १५ गते उजुरीमा उल्लेख भए अनुसारको हुलिया भएको युवक भक्तपुरको कमलविनायक भत्केको पाटीबाट पक्राउ प्रहरीले जनाएको छ ।
उनीविरुद्ध आदर्श चोकलगायतका सार्वजनिक स्थानको भित्री सडक खण्डको एकान्त स्थानमा हिँडडुल गरिरहेको महिलाहरुलाई अभद्र व्यवहार गरेको उजुरी समेत प्रहरीमा परेको थियो ।
पीडित महिलाहरुका अनुसार मोटरसाइकलमा चढेर आएको व्यक्तिले चिमोट्ने, धाप मार्ने, संवेदनशील अंगमा छुने, जिस्क्याउने लगायत हर्कत गर्ने गरेको प्रहरीले जनाएको छ ।
पीडितका अनुसार एकान्त ठाँउमा भेटिने महिलालाई उनले आफ्नो यौनाङ्ग देखाउने लगायतका अनौठो हर्कतहरु गर्थे ।
महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरमा पीडित महिलाहरुले विभिन्न मितिमा यस्ता क्रियाकलापहरू गरेको भनी हुलिया सहितको निवेदन दिएका थिए ।
सोही हुलियाको आधारमा कसूरदार व्यक्ति खोजतलास गर्न महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी अधिकृत सहितको टोली संकित ठाँउमा परिचालन गर्दै खोजतलास गर्ने क्रममा असार १५ गते तामाङलाई पक्राउ गरेको परिसर भक्तपुरका डीएसपी दिपक गिरीले जानकारी दिनुभयो ।
तामाङलाई महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
