
पूर्णपुष्टि, फागुन २२ ।एकिकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले श्रद्धाञ्जली अर्पण गरेका छन् । प्रधानमन्त्रीले एकिकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर पुगेर उपाध्यायप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाइ हुन् । प्रधानमन्त्रीले माधव नेपालसहित सम्पूर्ण परिवारजनमा समवेदना पनि प्रकट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
गत शनिबार काठमाडौंको शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तला माथिबाट खसेर उपाध्यायको निधन भएको थियो । आज अन्त्येष्टि गर्नुअघि अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।
