
सुनिल राई÷गाईघाट, ४ फागुन । उदयपुरको थारुहट रङ्गशाला गाईघाटमा जारी एन्फा उमन्स च्याम्पियनमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।
आज भएको खेलमा न्युरोड टिमलाई ६–१ गोल अन्तरले हराउँदै आर्मीले जित हासिल गरेको हो । आर्मीको जितमा जर्सी नं. ८ कि जेनिफर रानाले ह्याट्रिक गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खाता खोलेकी थिईन् भने खेलको ५९ र ६१ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन । त्यस्तै खेलको ७२ औँ मिनेटमा थप एक गोल गर्दै चौथो गोल गरिन । आर्मीका लागी जर्सी नं. ७ कि सपना लामाले खेलको ८१ र ९० औँ मिनेटमा गोल गरिन् ।
न्युरोड टिमको तर्फबाट जर्सी नम्बर १३ कि कविता गुरुङले खेलको ३४ औँ मिनेटमा एक मात्र गोल फर्काउन सफल भइन ।
भोलिको खेलमा संकटा फुटबल क्लबले चर्च बोईजको सामना गर्नुपर्नेछ । चर्च बोइजले छहरी युथ क्लबलाई जितर आएको हो ।
हालसम्मको खेलबाट गाइघाट फुटबल क्लव, एफ सी रियल, छहारी युथ क्लब, आर एस रिसोर्ट र न्यूरोड टिम बाहिरिएको छ । नेपाल पुलिस, चर्च बोइज, एपीएफ र त्रिभुवन आर्मी अगाडि बढेको छ ।
आगामी ९ गते फाईनल हुने प्रतियोगिता अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सहआयोजनामा रहेको छ । उपाधी विजेताले ७ लाख ५० हजार र उपविजेताले ५ लाख नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गर्नेछ ।
‘विभागीय टिम सबै सफल’
नेपालको तीन प्रमुख विभागीय टिमहरू प्रतियोगितामा अगाडि बढ्न सफल देखिएको छ । नेपाल पुलिस, सशस्त्र प्रहरी र त्रिभुवन आर्मी प्रतियोगितामा अगाडि बढ्न सफल देखिएको हो । अहिलेसम्मको खेलमा विभागीय टिमहरू सबै खेलमा हावी देखिए । पुलिसले एफ रियललाई १० (० फराकिलो अन्तरले पराजित गरेको थियो । सशस्त्र प्रहरीले आरएस रिसोर्टलाई १९–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने आज आर्मीले न्युरोड टिमलाई ६–१ को गोल अन्तरले पराजित गरेको हो । भोलिको संकटा फुटबल क्लब र चर्च बोईजको प्रतिस्पर्धापछि विभागीय बाहेकको एकमात्र टिम सेमिफाईनलमा प्रवेश गर्नेछ ।
