पूर्णपुष्टि,माघ ५ । नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएको छ । बिहिवार भएको मतदानमा घिमिरे विजयी भएको हो । कांग्रेसबाट सभामुखका उम्मेदवार ईश्वरी न्यौपानेलाई पराजित गर्दै नेकपा एमालेका घिमिरे विजयी भएका हुन् । घिमिरेलाई सत्ता साझेदार दलको समर्थन थियो ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने थिए भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला रहेका थिए ।
प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत पर्यो । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए । घिमिरेको विपक्षमा १०० मत पर्यो । पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोषणा गरेका हुन् ।
२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौं सभामुख हुन् ।
