Friday, May 1News That Matters

कटारी बजारमा बुद्धको आकर्षक स्तम्भ निर्माणाधीन

पूर्णपुष्टि, असार २३ । उदयपुरको कटारी बजारको प्रवेशद्वारमा बुद्धको आकर्षक स्तम्भ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। मदन भण्डारी राजमार्ग र सिद्धिचरण राजमार्ग जोडिने स्थान कटारी ३ मा स्थापित यो स्तम्भले स्थानीय पहिचान र आकर्षण बढाउने अपेक्षा गरिएको छ।

कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार, ९ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यो स्तम्भले नगरपालिकालाई विशिष्ट पहिचान दिनेछ। स्तम्भको मुख्य भाग स्थापना भइसकेको र रंगरोगनको काम मात्र बाँकी रहेको जानकारी दिइएको छ।

कटारी वडा नम्बर ३ का अध्यक्ष पुष्कर खड्काले यो स्तम्भले कटारी बजारको आकर्षणलाई थप बढाउने बताए। उनका अनुसार, यो स्तम्भ दुई प्रमुख राजमार्गका यात्रुहरू एक आपसमा छुट्टिने स्थान नजिकै निर्माण गरिएको हो।

ट्राफिक चेकपोष्ट रहेको चोकमा स्थापित यो स्तम्भले कटारीलाई चिनाउन र पर्यटक आकर्षण गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ। अघिल्लो जनप्रतिनिधिहरूको कार्यकालमै यो परियोजनाको योजना बनाइएको थियो। नगरपालिकाले रंगरोगनको काम सकिएपछि स्तम्भको औपचारिक अनावरण गर्ने तयारी गरेको छ। यो स्तम्भले कटारी बजारको सौन्दर्य र पहिचान बढाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने आशा गरिएको छ।