Thursday, May 21News That Matters

काठमाडौ महानगरले साउन १ देखि प्लाष्टिक प्रयोगमा निषेध

पूूर्णपुष्टि,असार ७ । काठमाडौं महानगरपालिकाले साउन १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने भएको छ । महानगरको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले २०८० श्रावण १ गतेबाट एकल प्रयोगको प्लाष्टिकलाई निषेध गर्ने बताएको हो ।

नीति तथा कार्यक्रममा एकल प्लाष्टिकलाई निषेध गर्ने सँगै प्लाष्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लाष्टिकको झोलाको प्रयोगलाई महानगरभित्र प्रतिबन्ध लगाउने पनि उल्लेख गरिएको छ । त्यस्तै, महानगरले आगामी आवमा सार्वजनिक स्थानहरुमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको प्रयोग तथा बेचबिखनलाई पूर्ण रुपमा रोक लगाउने पनि उल्लेख गरेको छ ।

महानगर क्षेत्रभित्रका सडकपेटीमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोध ट्याङ्की, पर्खाल, बिजुली तथा टेलिफोनका पोल तथा डिस्ट्रिब्युसन बक्स, कम्युनिकेशन बक्स जस्ता संरचना स्थानान्तरण गर्न कानून तर्जुमा गरी कार्यान्वयनमा ल्याइने नीति पनि कामपाको रहेको छ।