
पूर्णपुष्टि, बैशाख २१
कोरोना नियन्त्रणमा सुधार नदेखिएपछि उपत्यकामा थप एक साता निषेधाज्ञा लम्वाइएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो ।
यस अघिको भन्दा पनि थप कडाइका साथ निषेधाज्ञा थप गरिएको काठमाण्डौँका जिल्ला प्रशासन कार्यालयहरुले गरेको निर्णयमा उल्लेख गरिएको छ ।
थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका छन् ।
त्यसैले आजबाट बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था हटाइएको छ ।
यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाहरु आफ्नो कार्यालयको परिचयपत्रको आधारमा हिँडडुल गर्न पाउने छन् तर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउनुपर्ने छ ।
सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ । यसैगरी सम्बन्धित पालिकाले अनिवार्य रुपले १० दिन क्वारन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस दिए मात्रै काठमाडौं उपत्यका छाड्न पाइनेछ ।
