Monday, June 29News That Matters

कात्तिक १ गतेदेखि धार्मिक स्थल खुलाउने तयारी

पूर्णपुष्टि, असोज २१ 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी कात्तिक १ गतेदेखि नेपालका धार्मीक स्थल खुला गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने बताउनुभएको छ ।
ताप्लेजुङको ओलाङचुङगोलामा बोर्डर आउट पोस्ट (बीओपी) को उद्घाटन गर्नु भएका मन्त्री भट्टराईले कोरोना महामारीले लामो समयदेखि बन्द रहेका धार्मिक स्थल खोल्ने प्रस्ताव बिहीबार नै मन्त्रिपरिषदमा पेस गर्ने बताउनुभएको हो ।

प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएमा मात्र धार्मिक स्थलहरुको भ्रमण तथा अवलोकन खुला हुने छ । आगमी कात्तिक १ गतेदेखि विराटनगरबाट समेत पूर्वी पहाडका क्षेत्रहरुमा नेपाल एअरलाइन्सले उडान सुरु गर्ने गरी तयारी गरिरहेको मन्त्रि भट्टराईले बताउनुभयो ।

अहिले पूर्वी पहाडका केही जिल्लामा काठमाण्डौबाट मात्रै उडान हुँदै आएको छ । भट्टराईका अनुसार अब काठमाण्डौ–ताप्लेजुङ–काठमाण्डौका साथै विराटनगर–ताप्लेजुङ–विराटनगरको पनि उडान सुरु हुने छ ।
ताप्लेजुङको उत्तरी सीमावर्ती क्षेत्र फकताङलुङ गाउँपालिकाको मौवाटारमा बुधवार बीओपी स्थापना भएको छ । यसअघि नै बीओपी स्थापना भइसकेको सङ्खुवासभाको किमाथाङ्कामा भने बीओपीको भवन शिलान्यास हुने कार्यक्रम छ ।

मौवाटारमा स्थापना हुने बीओपीका लागि त्यहाँ भौतिक संरचना नबनेसम्म अहिले ओलाङचुङगोलामै प्रहरी टोली रहने छ ।