Saturday, April 25News That Matters

काेराेना खबर अपडेट – ५ जेठ, २०७८ (भिडियाेमा)

पूर्णपुष्टि, जेठ ५ ।

उदयपुरमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोराना भाइरस संक्रमण पुष्टि भएको छ । १८ जना पुरुष र १२ जना महिलामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७६ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभरी २७० पुरुष र २०६ जना महिलामा संक्रमण पुष्टि भएको छ । आजसम्म कोरोना जितेर घर फर्किनेको संख्या २२ पुरुष र ८ महिला गरी ३० जना हरेका छन् ।

आजपनि कोरोनाले मृत्युको खबर टुटेन । चारदिनदेखि कोरोनाले उदयपुरका विरामीको ज्यान गइरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाले थप २ जनाको मृत्यु भयो । योसंगै जिल्लामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । चारदिनअघि जेठ २ गते एकैदिन ५ जनाको ज्यान गएको थियो । जेठ ३ मा २ जना, जेठ ४ मा १ जना र आज २ जनाको ज्यान गएको हो । त्यसअघि ७ जनाको ज्यान गइसकेको थियो ।

मृतकहरु मध्ये दुईजनाको उदयपुरको अस्पतालमै ज्यान गएको हो भने बाँकीको उपचारको क्रममा जिल्ला बाहिर मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र ११ पुरुष रहेको छन् ।

पछिल्लो दुई मृतकहरुमा त्रियुगा नगरपालिाका–११ का ४७ वर्षीया महिला र बेलका नगरपालिका–३ का ४७ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले सम्म कोरोनाले त्रियुगाका ११, चौदण्डीगढीका ३, बेलकाका १ र कटारीका १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङकमा उल्लेख छ ।

###

कोरोना महामारीको बेला बन्द रहेको कटारी नगरपालिकामा आज हुलदंगा मच्चिएको छ । नगरपालिकाको सार्बजनिक जग्गामा बनाएको घर डोजर लगाई भत्काए पछि हुलदंगा मच्चिएको हो । ऐनानी जग्गालाई आप्mनो दावी गर्दै स्थानीय सन्तबहादुर सुनुवारले दुईतले पक्की घर निर्माण गर्दै गरेका थिए । निर्माण रोक्न भन्दै नगरपालिकाले भत्काएको जनाएको छ । घर भत्काएपछि सुकुम्बासी क्षेत्रका बासिन्दाहरु उत्रेर नाराजुलुस गर्दै मेयर, उपमेयर, वडाध्यक्ष लगायतको घरमा ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रन लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नु परेको जनाएको छ । प्रहरी र विरोधमा उत्रिएका सर्बसाधारणबीचको हुलदंगामा केही प्रहरी घाइते भएको जनाएको छ ।

ढुंगामुढा प्रहारबाट मेयर ज्ञानेन्द्र श्रेष्ठ, उपमेयर भीमकुमारी राउत, ४ नं. वडाध्यक्ष कृष्ण दनुवार र अर्का एक ब्यक्तिको घरमा क्षती पुगेको जनाइएको छ । हाल घटनाको बारेमा छलफल गरी समस्या समाधानको प्रयास भइरहेको जनाइएको छ । प्रसासन र सुरक्षा प्रमुखहरु समस्या समाधानमा लागेको जनाइएको छ ।

कोरोना महामारीका कारण कटारी बन्द गरिएको थियो । तर, आजको घटनाले हुलदुंगा हुदा कोरोना महामारी फैलने उच्च जोखिम बढेको छ ।

###

संक्रमितको अग्रता त्रियुगा नगरपालिकामा जारी छ । जिल्लाको ४७६ संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगामा २४५ जना रहेका छन् । मृत्यु हुनेको संख्या पनि त्रियुगामा सबैभन्दा बढि छ । जिल्लाको १६ जना मृतक मध्ये ११ जना त्रियुगाकै हुन् ।

त्रियुगालाई पछ्याउदै बेलका नगरपालिकामा ७६ जना संक्रमित छन् । चौदण्डीगढी नगरपालिकामा ६१ जा संक्रमित भए । कटारी नगरपालिकामा ५० जना संक्रमित भए, उदयपुरगढी र रौतामाईमा १५÷१५ जना, लिम्चुङबुङमा १३ र ताप्लीमा १ जना स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ ।

त्रियुगा पछि मृत्यु हुने बढिसंख्या चौदण्डीगढीमा छ । चौदण्डीगढीका ३ जना, कटारीको १ र बेलका नगरपालिकामा आज पहिलो पटक १ जनाको मृत्यु भएको हो ।

###

चौदण्डीगढी नगरपालिकाको बेल्टार स्थित उदयपुर कोरोना अस्पतालमा ५५ जना कोरोना संक्रमितले भर्ना भएका मध्ये १ जनाको मृत्यु भयो भने २१ जना निको भएर फर्किसकेका छन् । ८ जना बाहिर अस्पतालमा रेफर भएका छन् । हाल अस्पतालमा १६ पुरुष र ९ महिला गरी २५ जना उपचारमा रहेको अस्पतालले जनाएको छ ।

###

स्वास्थ्य कार्यालय, उययपुरले ताप्लीमा १ कोरोनो संक्रमित भनी सार्बजनिक गरेको तथ्यांक पालिकाले स्विकार गरेको छैन ।

ताप्ली वडा नंं. ३ को भनिएको ब्यक्ति सो वडामा बुभ्mदा पत्ता नलागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामाले बताउनुभयो । वडाभरी बुभ्mदा त्यसवडामा नाम, उमेर ठेगाना अनुसारको कोही ब्यक्ति नरहेको बुझिएपछि तथ्यांकलाई स्विकार गर्न नसकिएको अधिकृत लामाले बताउनुभयो । अझ पनि पालिका कोरोनामुक्त रहेको पालिकाको दावी छ ।

पालिकाले हालसम्म संकास्पद दुईजनामा एन्टिजम परिक्षण गर्दा दुवैजना नेगेटिभ आएको जनाएको छ । पालिकामा ५० वटा किट भध्ये दुईवटा मात्र प्रयोग भएको छ । शंका लागेमा परिक्षणका लागि आउन पालिको पालिकाबासीलाई सूचना गरेको जनाएको छ । गाउँघरमा ज्वरो आउनेहरु रहेको खबर आएपनि परिक्षणमा नआएको जनाइएको छ । पालिका आफैले अग्रसरता देखाइ परिक्षणको दायरा बढाउनुपर्ने देखिएको छ ।

###

लिम्चुङबुङ गाउँपालिकालाई नेपालको बैज्ञानिक डाक्टर महाविर पुनले कोरोनामा सहयोग पुर्याउनु भएको छ । उहाँले पालिकालाई २० सेट पिपिइ सेट निःशुल्क प्रदान गरी सहयोग पुर्याउनु भएको हो । पालिका अध्यक्ष मेजरकुमार राईलाई आज पुनले राष्ट्रिय अविस्कार केन्द्रमा पिपिइ सेट प्रदान गर्नुभयो । बैज्ञानिक पुनको नेतृत्वको अविस्कार केन्द्रले कोरोना संकटको बेला यस्ता थुप्रै सहयोगी काम गर्दैआएको छ । पालिकाले पुनको सहयोगप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

यसैगरी लिम्चुङबुङको बाराहा स्थित आइसोलेशनमा रहेका २ जना संक्रमितलाई अक्सिजनमा राख्नु परेको छ । आइसोलेशनमा बसेका मध्ये अन्य छ जना भने सामान्य अवस्थामा रहेको आइसोलेशन ब्यवस्थापन प्रमुख कर्णसेर राईले जनाउनु भएको छ ।

संक्रमितहरुलाई आप्mनै पालिकामा उपचारका लागि बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा १२ बेडको आइसोलेशन बनाइएको छ । त्यहाँ एकजना एमबीबीएस डाक्टर उमेश कार्कीसहितको स्वास्थ्यकर्मी टोली ब्यवस्था गरिएको छ । पालिकामा पाँचवटा अक्सिजन शिलिण्डर तयारी अवस्थामा राखिएका छन् ।

संक्रमित विरामीलाई जटिल अवस्था आइपरेमा तत्काल एम्बुलेन्स मार्फत कोरोना अस्पताल लैजाने ब्यवस्था मिलाइएको पालिकाका प्रकासकीय अधिकृत टार्जन लिम्बुले बताउनुभयो ।

###

त्रियुगा नगरपालिका वडा नं. १६ ले आप्mनो वडा कोरोना संक्रमणको उच्च जोखिममा परेपछि विशेष सतर्कता र सचेत भइदिन वडाबासीलाई अपिल गरेको छ ।

वडाध्यक्ष मानबहादुर राईले आज वडाबासीको नाममा अपिल जारी गर्दै बेलैमा रोकथाम र नियन्त्रणमा लाग्न सबै वडाबासीलाई अपिल गरिएको छ ।

यस अवस्थाले वडालाई गम्भिर बनाएको उल्लेख गर्दै समयमा नै यसको रोकथाम गर्न नसके भयावह स्थिति आउनसक्ने संकेत देखिएको जनाइएको छ । तथापी, यस अवस्थाबाट भयाभित नहुन, संक्रमितहरुले मनोबल उच्च बनाइ राख्न अध्यक्ष राईले आग्रह गर्नु भएको छ । साथै हरेक नागरिकले सचेतता र सतर्कता अपनाउन र स्वास्थ्यको सबै मापदण्ड अपनाउन अनुरोध गर्नु भएको छ ।

वडाको ५४ जनामा कोरोना परिक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएपछि वडौ उच्च जोखिममा रहेको ठहर गरिएको छ । वडाको पूर्वी क्षेत्र बेल्दोभान, जाँते, सरस्वती र पश्चिमी क्षेत्र बेङ्री, भोर्ले, सुकौराका मानिसहरुमा ज्वरो आउने, टाउको दुख्ने विमार देखिएपछि कोरोना परिक्षण गरिएको थियो ।

संक्रमण नियन्त्रणका लागि त्रियुगा नगर कार्यपालिकाको सिफारिसमा जिल्ला कारोना संकट ब्यवस्थापन समितिको निर्णय बमोजिम वडालाई सिल गरिएको अवस्था छ । वडाको बोक्से बेल्दोभान नाका, भान्टावारी सुकौरा नाका र मुर्कूची सुकौरा नाका पुरै बन्द गरिएको जनाइएको छ ।

वडाले सहयोगका लागि वडाका जनप्रतिनिधिहरु र विभिन्न विषयगत समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको नाम र नम्बर पनि सार्बजनिक गरेको छ ।

###

देशभर कोरोना संक्रमितको संख्या ४ लाख ८० हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार १७३ जना थपिएको हो ।

नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ६५७ पुगेको छ । पछिल्लो २४ घण्टामा २४६ जनाले ज्यान गुमाएका छन् । देशमा निको हुनेको संख्या ३ लाख ६० हजार ४०३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९८९ जनाले कोरोनालाई जितेर निको भएको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ ।

###

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ४९ लाख ०४ हजार ०७८ पुगेको छ । मृत्यु हुनेको संख्या ३४ लाख १८ हजार ७६२ पुगेको छ । विश्वमा  कोरोना जितेर निको हुनेको संख्या १४ करोड ३८ लाख ६७ हजार ००९ पुगेको छ ।

कोरोना खबर अपडेट आजलाई यति नै, यसपछि कोरोनासंग सम्बन्धीत विशेष संवाद लिएर आउने छौं । हामीसंगै जोडिनुहोला ।