
पूर्णपुष्टि, जेठ २ ।
उदयपुरमा आज कोरोनाले ५ जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका १० का ६३ वर्षिय पुरूष, त्रिनपा ३ का ४७ वर्षिय पुरूष, चौदण्डीगढी नगरपालिकाका ५ का ५६ वर्षिय पुरूष, त्रिनपा १२ का ५१ वर्षिय पुरूष र त्रिनपा १ का ३७ वर्षिय पुरूषको मृत्यु भएको हो । त्रिनपा १ का ३७ वर्षिय पुरूषको बेलुका मृत्यु भएको हो । होम आइसोलेसनमा बसेको बेला एक्कासी स्वास्थ्यमा समस्या भएपछि जिल्ला अस्पताल उदयपुर लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । जिल्ला अस्पताल ल्याउन अघि बेल्टार कोरोना अस्पताल लगिए पनि त्यहाँ उपचार हुन नसक्ने भएपछि जिल्ला अस्पतालतर्फ ल्याइएको हो । अन्य चारजनाको विहानै मृत्यु भएको हो । त्यसमध्ये १ जना बेल्टार कोरोना अस्पतालमा मृत्यु भएको हो । उदयपुरको अस्पतालमा कारोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।
आजको मृतक पाँचजनासहित उदयपुरमा जम्मा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार ३ महिला र ९ पुरुषको कोरोनाले मृत्यु भएको हो । मृतकहरु मध्ये ८ जना त्रियुगा नगरपालिकाको, ३ जना चौदण्डीगढी नगरपालिका र १ जना कटारी नगरपालिकाको हो ।
यसैबीच उदयपुरमा कोरोना संक्रमित बढ्दो क्रम जारी छ । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित पुष्टि भएका छन् । त्रियुगा नगरपालिकाका ११, चौदण्डीगढी नगरपालिकाका ६ जना र रौतामाई गाउँपालिकाको २ जनामा संक्रमण पुष्टि भएको हो । ५३ जनाको परिक्षण गरिदा ६ महिला र १३ पुरुष गरी १९ जना संक्रमित भेटिएका हुन् ।
यो संगै जिल्लामा संक्रमितको संख्या ३ सय ८७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । संक्रमितहरु मध्ये ३ सय ५४ जना होम आ्इसोलेशनमा छन् भने २३ जनाको संस्थागत आइशोलेशनहरुमा उपचार भइरहेको छ ।
उदयपुरमा कोरोना जितेर निको हुनेको संख्या २३ पुगेको छ । पछिल्लो समय ९ जनाले कोरोनालाई जितेर निको भएका हुन् । उनीहरु कोरोना मुक्त भइ घर फर्केका छन् ।
उदयपुरका आजका मृतकहरु मध्ये चौधरी र मगरको अन्यष्टी गाईघाट नजिकै त्रियुगा नदिमा आज जलाइएको छ । चौधरीको शब नेपाली सेनाले ब्यवस्थापन गरी जलाएको हो भने मगरको परिवारले नै जलाएको हो ।
चौधरीको परिवारले प्रशासनलाई गुहारे पछि जिल्ला स्थित नेपाली सेनाको कोरोना संक्रमित शब ब्यवस्थापन टोलीले अस्पतालबाट ल्याएर त्रियुगामा अन्त्येष्टी गरेको हो । मगरको शब भने बेलैमा प्रशासनसंग समन्वय नगरेकाले सेनाले ब्यवस्थापन गर्न नसकेको र परिवारले नै ल्याएर अन्त्येष्टी गरेको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले बताउनुभयो ।
प्रजिअ सेढाईका अनुसार हाल कोरोनाले मृत्यु भएकाको परिवारले आफै अन्त्येष्टी गर्ने इच्छा जनाएमा अन्त्यष्टी गर्न मिल्छ । तर, स्वास्थ्य मापदण्ड अपनाउन अनिवार्य छ । आज मगरको शब अन्त्यष्टीका लागि स्वास्थ्य कार्यालयले मगरको परिवारका सदस्यहरुलाई पिपीइ सेट उपलब्ध गराएको र सुरक्षितरुपले अन्त्यष्टी गरेको जनाइएको छ ।
चौदण्डीगढीका कोइरालाको शब विराटनगरमै ब्यवस्थापन गरी अन्तेष्टी गरिएको परिवारलाई उदृत गर्दै प्रशासनले जनाएको छ । अर्को एकजनाको भने अन्तेष्टीको खबर आएको छैन ।
चौदण्डीगढी नगरपालिका स्थित बेल्टार कोरोना हस्पिटलमा आज उपचारमा १५ जना रहेका छन् ।
उदयपुरको चौदण्डिगढी नगरपालिका स्थित कोरोना अस्पतालमा उपचाररत संक्रमितको आज मृत्यु हुदा जिल्लाको अस्पतालमा संक्रमितको मृत्य पहिलो घटना बनेको छ ।
त्रियुगा नपा – १० का ६३ वर्षिय पुरूषको बेल्टारमा मृत्यु भएको हो । हिजोसम्म उदयपुरभित्रकै अस्पतालमा संक्रमितको मृत्यु भएको थिएन । यसअघि उपचारको क्रममा जिल्लाबाहिर अस्पताल गएकाहरुको मात्र कोरोनाले मृत्यु भएको थियो । त्यसरी मृत्युहुनेको संख्या हिजोसम्म ७ रहेको थियो । यो घटनाले उदयपुर प्रशासन र जिल्लाबासीलाई झस्काएको छ । जिल्लामा कोरोनाको गम्भिर स्थिति देखिएको छ ।
त्रियुगा नगरपालिकाको वडा नंं। १६ का गाउँहरुमा ज्वरोका विरामी ठूलो संख्यामा रहेको खबर छ । वडाध्यक्ष मानबहादुर राईका अनुसार वडाको विभिन्न टोलबस्तीमा ज्वरो आउनेको संख्या ठूलो रहेका छन् । वडामा दुईदिन अघि परिक्षण हुदा १५ जनामा संक्रमण देखिएको थियो । विहेमा गएकाहरु अधिकांशलाई ज्वरो आएको भन्ने खबर समेत रहेको उहाँले बताउनुभयो ।
विरामीहरुलाई मध्येनगर गर्दै वडाले सुकौरामा परिक्षण राख्ने भएको छ । आउदो ४ गते ९ बजे सुकौरामा परिक्षण राखिएको वडाध्यक्ष राईले बताउनुभयो ।
वडाभर संक्रमण फैलिएको आशंका गरिएकाले वडाको नाका बेल्दोभान र सुकौरामा सिल गर्ने तयारी भएको वडाध्यक्ष राईले जानकारी दिनुभयो ।
त्रियुगा उद्योग वाणिज्य संघका बरिष्ट उपाध्यक्ष रमेश रसाइली नेतृत्वको टोलीले अग्रपंतीमा कोरोना विरूझ लडिरहेका सुरक्षाकर्मीहरूलाइ स्वास्थ्य सामग्री वितरण गरेको छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीलाइ ५ सय वटा मास्क र ११ लिटर सेनिटाइजरका दरले प्रदान गरेको छ । त्यसैगरी विभिन्न प्रहरी चौकी, अस्थाइ प्रहरी पोष्ट, ट«फिक कार्यालयहरूलाइ पनि प्रदान भएको छ । नगर प्रहरी गाइघाटलाइ मास्क ३ सय, सेनिटाइजर ६ लिटर प्रदान भएको छ । साथै इलाका प्रहरी जलजले र लालपत्ता प्रहरी चौकीलाइ ३ सय मास्क, ७ लिटर सेनिटाइजरका दरले प्रदान भएको छ । साउने प्रहरी चौकी, चुहाडे प्रहरी चौकी, बसपार्क प्रहरी पोष्टलाइ ३ सय मास्क र २ लिटर सेनिटाइजरका दरले प्रदान भएको छ ।
नेपाल पत्रकार महासंघ उदयपुरलाइ ३ सय मास्क र ७ लिटर सेनिटाइजर प्रदान गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशिभर कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको छ । ७ हजार ३ सय ६८ जना थपिएसंगै संक्रमितको संख्या ४ लाख ५५ हजार २० पुगेको हो ।
नेपालमा मृत्यु हुनेको संख्या पाँच हजार पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ४५ जनाले ज्यान गुमाएसंगै मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जनाले कोरोनालाई जित्दा देशमा निको हुनेको संख्या ३ लाख ३९ हजार ७ सय ५६ पुगेको छ ।
गएको २४ घण्टामा विश्वभर ६ लाख २ हजार ५ सय ८८ जना कोरोना संक्रमितको संख्या थपिएको छ । योसंगै विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ३१ लाख ८४ हजार ६ सय १६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा १० हजार ८ सय ७३ जनाले ज्यान गुमाएसंगै विश्वमा मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ९ सय जना निको हुदा विश्वमा कोरोना जितेर निको हुनेको संख्या १४ करोड १४ लाख ९९ हजार २ सय पुगेको छ ।
