
पूर्णपुष्टि, १४ असार ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन जसपा उपस्थित नहुने जनाएको छ । कार्कीलाई विश्वासको मत दिने कार्यमा सहभागी नहुने जसपाले पत्रमा उल्लेख गरेको छ । जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बिहीबार एक विज्ञप्ति जारी गर्दै विश्वासको मत दिने कार्यमा सहभागी नहुने बताएका हुन् ।

विज्ञप्तिमा कोशी नामकरणमा सहयोग गर्ने कुनै पनि दलको नेतृत्वलाई अस्वीकार गर्ने उल्लेख छ । साथै सो पार्टीले कोशी प्रदेश नामकरण खारेज गरी पहिचानलाई सम्बोधन गरी प्रदेशको नामकरण पुनः गर्नुपर्ने माग राखेको छ ।
निरन्तर सङ्घीयता र पहिचानको निम्ति पहिचानसहितको सङ्घीयता, सुशासन र समृद्धिसँगै समाजवादको बलियो आधार तयार गर्नलाई जनसङ्घर्ष नै प्रमुख साधन हो भन्ने मान्यताका आधारमा आन्दोलनलाई सरकार, सदन र सडक तीनै ठाउँबाट सङ्घर्ष चलाइरहेको जसपाले जनाएको छ । कोशी प्रदेशमा कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन जसपाले गत जेठ १६ गते नै फिर्ता लिइसकेको छ ।
