
पूर्णपुष्टि, असोज ४ ।
कृषि ज्ञान केन्द्र उदयपुरले आज वार्षिक कार्यक्रम सार्बजनिकिकरण गोष्ठीको आयोजना गरी आर्थिक वर्ष २०७७/०७८ को अनुदान प्रवाह हुने मुख्य–मुख्य आयोजना र क्रियाकलापहरुको विवरण सार्बजनिक गरेको छ ।
केन्द्रले उपभोग तथा प्रशासनिक खर्चसमेत २० बुँदामा समेटि विभिन्न शिर्षकमा ५ करोड ८५ लाख ८९ हजार बजेटको चालु आर्थिक वर्षको कार्यक्रम तथा खर्च सार्बजनिक गरेको हो । केन्द्रका निमित्त कार्यालय प्रमुख प्रकाश विश्वकर्माले गतवर्षको प्रगति प्रतिवेदनसमेत प्रस्तुत गर्दै आगामी कार्यक्रम प्रस्तुत गर्नुभयो ।
बजेटको हिसावले केन्द्रको प्राथमिकतामा प्राङ्गारिक खेती प्रवद्र्धन अभियान कार्यक्रम, कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्धन कार्यक्रम, व्यवासायिक फलफुल वगैचा स्थापना सहयोग, युवा लक्षीत च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, कृषि बजार तथा संकलन निर्माण, प्राथमिकतामा परेका छन् । ६४ लाख बजेटमा प्राङ्गारिक खेती प्रवद्र्धन अभियान, ४१ लख ५५ हजार बजेटमा कृषि यान्त्रीकरणका लागि औजार उपकरण प्रयोग प्रवद्र्धन कार्यक्रम हुने भएको छ भने २१ लाख बजेटको यवासायिक फलफुल वगैचा स्थापना सहयोग र बीस/बीस लाखको बजेटमा युवा लक्षीत च्याउ, मह, तरकारी उत्पादन कार्यक्रम, कृषि बजार तथा संकलन निर्माण हुने भएका छन् ।
१ सय २८ हेक्टर जमिनमा मकै उत्पालकत्व प्रवद्र्धन कार्यक्रम गरिने भएको छ । जसको लागि १३ लाख ५० हजार बजेट विनियोजन छ । १२ लाख ५० हजार बजेटमा कागतीखेती मिसन कार्यक्रम गर्ने भएको छ । महिला दलित, विपन्न तथा पिछडिएको समुदाय लक्षित कार्यक्रम पनि रहेको छ । जसलाई १० लाख बजेट विनियोजन भएको छ । मुख्य राजमार्ग लक्षित तरकारी उत्पादन कार्यक्रम ९ लाख बजेटको हुने, सघन वाली विकास अयाोजना ८ लाख ३३ हजार बजेटको हुने भएको छ । ६ लाख बजेटको विउविजन आत्मनिर्भर कार्यक्रम गरिने भएको छ ।
मागमा आधारित कृषि व्यवसाय प्रवद्धन कार्यक्रम ५ लाख बजेटको हुने भएको छ भने ३ लाख बजेटमा प्लान्ट क्लिनिक सञ्चालन, त्यतिकै बजेटमा जैविक तथा वानस्पतिक विषादी प्रयोग विस्ता कार्यक्रम गरिने भएको छ । व्यवसायिक बगैचाका लागि फलफुल विरुवा वितरण, आकस्मिक प्रकोपमा सहयोग, उन्नत कृषि प्रविधि सम्बद्ध साना प्रदर्शन सामग्री वितरण, मुख्यमुख्य वालीको क्रप कटिङ जस्ता साना बजेटका कार्यक्रमहरु पनि सञ्चालन हुने जनाइएको छ । समग्रमा २ करोड ४२ लाख ३८ हजार कार्यक्रम खर्च रहेको छ ।
प्रदेश सांसदहरुको विशेष आतिथ्यमा भएको कार्यक्रममा पालिका प्रमुख, कृषि प्राविधिक, कृषक र पत्रकारहरुको सहभागिता थियो । प्रदेश सांसदहरु विमल कार्की, अम्बिका थापा, कला घले, सुनिता चौधरी र सञ्जा दनुवारको उपस्थिति थियो । पालिकातर्फ बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा र रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काको उपस्थिति थियो । उहाँहरुले मन्तब्य राख्दै वास्तविक कृषकका लागि अनुदान हुनु पर्ने र कार्यक्रमहरु पुग्नुपर्ने सवाल उठाउनुभयो । कृषकको नाममा नक्कली कृषकहरुले, ठग कृषकहरुले अनुदान कुम्याएको कुरालाई इंगित गर्दै वास्तविक कृषकहरुले कार्यक्रम र योजनाको बारेमा जानकारीसमेत नपाएकोप्रति खबरदारी गर्नुभयो । कृषक र भुगोलको औचित्याको आधारमा योजना तथा कार्यक्रम ल्याउन सुझाव दिदै उहाँहरुले नितिगतरुपमा परिवर्ततका लागि भूमिका खेल्ने बचन दिए । जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा कार्यक्रम भएको थियो । 
