Friday, May 22News That Matters

कोरियाबाट २२८ नेपाली नेपाल आइपुग्यो

पूर्णपुष्टि, असार ६ गते । 

कोरियाबाट २ सय २८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन ।

प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनु पर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको जनाईएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् ।

यात्रुले टिकट बापत करिब ८५ हजार रुपैयाँ तिरेका छन् । आजै यस जहाजबाट १ सय ६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाले जनाएको छ ।

अहिले भिसा नभएका या नयाँ प्रक्रिया गरेर जानुपर्ने लगायत ईपीएस कोरिया शाखाबाट थप प्रक्रिया गर्नुपर्ने कोही पनि नेपाली कोरिया जान पाएका छैनन् ।

नेपाल घुम्न या परिवारिक भेटघाटका लागि बिदामा नेपाल आएका जोेसँग अवधि भएको भिसा र श्रम स्वीकृति छ उनीहरु मात्रै फर्कर्ने जनाईएको छ । थप प्रक्रिया गरेर जाने नेपालीहरु यस उडानमार्फत जान नपाउने जनाईएको छ ।

जुन १६ अर्थात गत मंगलबार पनि १ सय ६८ नेपाली कोरिया फर्किएका छन् । उनीहरु पनि बिदामा नेपाल आएका र साथमा आधिकारीक भिसाको अवधि र श्रम स्वीकृति भएकाहरु नै हुन् ।

गत वैशाख १४ गते मन्त्रिपरिषद्को बैठकले सबै प्रक्रिया पूरा भएर पनि कोरिया जान नपाएका नेपाली श्रमिकलाई कोरिया सरकारसँग समन्वय गरेर उड्न दिने निर्णय गरेको थियो ।