
पूर्णपुष्टि, जेठ २० गते ।
प्रदेश सरकारले सञ्चार माध्यमलाई दिएको कोरोना सचेतना सन्देशको गत प्रचार भएको भन्दै नेपाल पत्रकार महासंघसहित पत्रकार संगठनहरुले आपत्ती जनाएको छ ।
प्रदेश सरकारले स्वरोजगारमूलक सञ्चार माध्यमलाई कोरोना महामारीबाट उत्पन्न संकटको अवस्थामा सन्देशमुलक सूचना दिई सहयोग गरेको विषयलाई लिएर भ्रम छरिएको भन्दै महासंघ र संगठनहरुले मंगरबार विज्ञप्ति जारी गर्दै आपत्ती जनाइएको हो ।
प्रदेश सरकारले कोरोना जन सुरक्षा कोषको कार्यबिधि अनुसार कोरोना विरुद्ध सचेतना फैलाउने सन्देश महासंघमार्फत प्रदेशका सञ्चार माध्यमलाई उपलब्ध गराएको नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले जनाएको छ । महासंघका अध्यक्ष बिक्रम लुईटेल र महासचिब विवेक गौतमद्वारा जारी विज्ञप्तिमा अहिलेसम्म १ सय १६ सञ्चार माध्यमले सो रकम प्राप्त गरेको र अन्य प्रक्रियामा रहेको स्पष्ट पार्दै तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा उक्त सन्देशवापतको रकम वितरण गरेको जनाइएको छ ।
सरकारले महासंघमार्फत दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी गर्दै सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै महासंघले आपत्ती जनाएको छ । कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नं प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ ।
महासंघले सरकारसँग पत्रकार र सञ्चार माध्यमका लागि राहत प्याकेज, सञ्चार साधन खरिद र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा एवं वृत्ति विकाससहित पत्रकार महासंघको संस्थागत सबलिकरणमा सहयोग गर्न सरकारलाई आग्रह गर्दै प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यसलाई समेट्न माग गरेको छ ।

यसैबीच प्रेस संगठन नेपाल १ नं प्रदेश समितिले पनि एक विज्ञप्ति जारी गर्दै संकटको बेलामा अग्रपंक्तिमा खटिएर सूचना प्रबाह गरिरहेका नेपाली सञ्चार माध्यमप्रति गलत आरोप लगाउने नेपाली काँग्रेसको संस्थागत धारणा सार्वजनिक गर्नसमेत माग गरेको छ ।
विज्ञप्तिमा प्रदेश सरकारले कोरोना सचेतना सन्देश फैलाएवापत दिएको रकम जायज भएको दावीसहित थप राहतको व्यवस्था गर्न माग गरिएको छ । नेपाली काँग्रेसका सचेतक कार्कीले अनावश्यक रुपमा यो विषयलाई अतिरञ्जित बनाएको संगठनका प्रदेश संयोजक राजन केडी र सहसंयोजक गणेश पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यता अनलाई मिडिया समूहले पनि सरकारबाट राहतकै रुपमा पाएको कोरोना सचेतना सन्देश वापतको रकमको बारेमा गलत प्रचार गर्ने प्रदेश सांसद केदार कार्कीलाई आफ्नो संसदकोषको रकम खर्च विवरण सार्वजनिक गर्न चुनौति दिएको छ ।

