
पूर्णपुष्टि, जेष्ठ ६
कोरोना संक्रमणका कारण मृत्यु भएका बाबुको अन्त्यष्टीमा काठमाण्डौँ बाट घर हिडेकी छारीको पनि बिच बाटोमै बस दुर्घटनामा परी मृत्यु भएको छ ।
आमा–बुबाकै मृत्युपछि अन्त्येष्टिमा सहभागी हुन काठमाडौंबाट घर जाने क्रममा ३२ वर्षीया छोरी देवी केसीको पनि बुधबार बिहान पश्चिम नवलपरासीमा भएको बस दुर्घटनामा मृत्यु भयो ।
छुट्टाछुट्टै घटनाले चार दिनको बीचमा एकै परिवारका ३ जनाको ज्यान लिएको हो । कोरोनाले बाँफिकोट गाउँपालिका–५ स्यार्पुगाउँका ६७ वर्षीया र ७० वर्षीय दम्पतीको क्रमशः आइतबार र मंगलबार एउटै अस्पतालमा ज्यान गएको थियो । भने बुधबार दुर्घटनामा परि छोरीको समेत ज्यान गयो ।
आमाको मृत्युपछि नै घर आउन खोजेकी उनी सवारी नपाइएपछि आउन सकेकी थिइनन । संयोगवश बाबुको मृत्यु भएकै दिन जिल्ला आउने बस भेटाइन् र घरतर्फ लागिन । तर घर पुग्न पाइनन । उनी चढेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने भीरबाट करिब १ सय ५० मिटर तल खस्दा चारको मृत्यु हुनुका साथै ४२ घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी राजु लामाका अनुसार मृत्यु हुनेहरुमा देवीसहित त्रिवेणी गाउँपालिकाकी २७ वर्षीय कल्पना पुन, सिस्ने गाउँपालिकाका धनराज घर्ती, र मुसिकोट नगरपालिकाका १ का २१ वर्षीय गोपाल ओली रहेका छन् ।
निषेधाज्ञाको समयमा करिब ५० जना यात्रु बोकेर बस नवलपरासीसम्म कसरी आयो भन्ने प्रश्न उब्जिएको डीएसपी लामाले बताए । ती युवतीको परिवारमा अब ३ जना (छोरा, छोरी, बुहारी) मात्रै छन् । ‘आमाको अन्तिम संस्कार नसकिँदै बाबुको पनि काजकिरिया थाल्नुपर्ने भयो,’ गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘सँगसँगै छोरीको पनि मृत्य हुनु हृदयविदारक घटना हो ।’
