
पूर्णपुष्टि, बैशाख २८ गते ।
विश्वको विभिन्न देशमा रहेका नेपाली मध्ये कोरोना संक्रमणबाट ९ देशमा रहेका ७८ जना नेपालीको मृत्यु भएको छ । कोरोना भाईरस संक्रमणको कारण सवै भन्दा बढी बेलायतमा रहेका नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
बेलायतमा ५१, अमेरिकामा १५, संयुक्त अरब इमिरेट्स (यूएई)मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइन १ र स्वीडेनमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ ।
विश्वको ९ देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ भने अन्य २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएको विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको आँकडाले देखाएको छ ।
नेपाल बाहेक विश्वका विभिन्न देशमा रहेका ५ हजार ४ सय ७२ जना नेपाली कोरोना संक्रमित भएका छन् २ हजारभन्दा बढी नेपाली उपचारपछि निको भएका छन् । उक्त संक्रमितमध्ये ९ देशमा ७८ जनाको मृत्यु भएको जनाईएको छ । तर पछिल्लो समयमा आएर विदेशमा रहेका नेपालीमा कोरोना संक्रमितको संख्या घट्दो देखिएको जनाईएको छ ।
विदेशका विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ सस्थाद्वारा प्राप्त सुचनालाई मुख्य आधार बनाएर हरेक आइतबार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्याँक सार्वजनिक गर्दै आएको छ ।
