
काठमाडौँ, साउन १९
सोमबारदेखि परेको निरन्तर वर्षाका कारण कोशी नदी उदयपुरको बेलका नगरपालिका पसेपछि करिब २५ सय बासिन्दा विस्थापित भएका छन् । सप्तकोशीको टतिय क्षेत्रमा नदीले मंगलबार बिहानदेखि कटान गरेर गाउँघरमा प्रवेश गर्न थालेपछि बुधबार बेलुकी सम्ममा सो क्षेत्रका करिब १ हजार मानिसलाई सुरक्षित स्थानमा राखिएको छ । त्यस्तै, १ हजार ५ सय भने आफै सुरक्षित स्थानतर्फ गएका छन् ।
नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर १ हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालय तथा सिटिहलमा लगेर राखिएको छ ।
यता, नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोशीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै १ हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताए ।
उनका अनुसार श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन् । बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई विभिन्न सामाजिक सङ्घ संस्थाले पनि खाने कुरा र ओढ्ने उपलब्ध गराउनका साथै नगरपालिका आफैंले पनि चाल, दाल, तेल तथा कपडा उपलब्ध गराएको उपप्रमुख राईले बताए ।
बुधबार बिहानदेखि नै नगरपालिकाको सिसौली घाट, सातपत्रे, तपेश्वरी, श्रीलङ्का टापु, एबिसी टापु, डुम्रीबोट, सहितका ठूलो मानव बसोबास क्षेत्रमा सप्तकोसी नदीको पानी प्रवेश गरेपछि प्रदेश सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित नगरपालिकाका जनप्रतिनिधिले पीडित जनतालाई उद्धार गरेर अन्यत्र सार्ने कार्य गरेका थिए । कोशीको बाढी प्रबेश गरेका स्थलबाट जनताहरुको उद्धार गरिसकिएको र अहिले बाढीको बहाव पनि घटेर गएका कारण तत्काललाई खतरा टरे पनि त्यस स्थानमा नगरपालिकाका जनप्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका टोलीले निगरानी गरिरहेको नगरपालिकाले जनाएको छ ।
बेलका सिसौलिया घाटका पीडित कमलबहादुर परियारका अनुसार ४० वर्ष अगाडि जुन स्थानबाट कोसी नदी बग्ने गर्दथ्यो र पछि कोसीले धार परिवर्तन गरेर अन्यत्रबाट बग्न थालेपछि धार परिवर्तन गरेको स्थानमा मानिस बसोबास गर्न थालेकामा यस पटक ४० वर्षपछि कोसीको बाढी पुरानै बाटोमा फर्कंदा ठूलो सङ्ख्यामा बसोबास गर्ने जनता विस्थापित हुनुपर्ने अवस्था आएको छ ।अहिलेका लागि तत्काल खतराको सामाधन केही भए पनि भोलिका दिन कसरी काम गर्ने र विद्यमान समस्या समाधान कसरी गर्ने भन्नेबारे नगरपालिकाले तत्कालै स्थानीय प्रशासन, राजनीतिक दल, प्रहरी सेना र प्रदेश सरकारसँग छलफल सुरु गरेकोे छ । रासस
