
पुर्णपुष्टि,चैत्र १७ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै काठमाण्डौँमा बृहत नागरिक आन्दोलन प्रदर्शन भएको छ । पहिचानवादी संघ–संस्थाहरुले शुक्रबार माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन नगरेको हो ।
पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन् । प्रदर्शनमा सांगितक क्षेत्रका अग्रज गायक गायिकाहरुको बोक्लो उपस्थिति रहेको थियो ।

प्रदर्शनमा सहभागीमध्ये एक राजन मुकारुङले कुनै पनि आवाजलाई वार्ताद्वारा सम्बोधन गर्नु असल संस्कृति भएकाले चाँडो भन्दा चाँडो समस्या समाधानतर्फ जानु उचित हुने बताए । उनले नागरिकको समस्या समाधान गर्न नसके प्रदेश सरकार र केन्द्र सरकारको नेतृत्वले राजीनामा दिनुपर्नेमा जोड दिए ।
प्रदर्शनकारीहरुले ऐतिहासिक पहिचानका आधारमा पुनः नामकरण गर्न, प्रदर्शनका क्रममा मृत्यु भएका पदम लिम्बुलाई शहिद घोषणा गर्नुपर्ने लगायतका माग राखेका छन् । प्रदर्शनमा सचेत पहिचानवादी संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ काठमाडौं लगायतका पहिचानवादी संस्थाहरुको सहभागिता रहेको थियो ।
