
पूर्णपुष्टि, असार १ गते ।
कानुन विपरित वालुवा उत्खनन् भैरहेको खबरदारी गर्दा उदयपुरमा एक युवा प्रहरीको केरकारमा परेका छन् । उदयपुरगढी गाउँपालिका–६ मा पर्ने मदनभण्डारी राजमार्ग अन्तरगतको वैधनाथ खोलाको पुलमुनीबाट भइरहेको गैरकानुनी बालुवा उत्खनन् गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको विषयलाई लिएर प्रहरीले विजय घिमिरेलाई जिल्ला प्रहरी कार्यालय बोलाएर सोधपुछ गरेको छ ।
खबरदारी गर्दा प्रहरीको केरकारमा परेका विजय घिमिरेले आफ्नो फेसबुक पेजमा पुलमुनि बालुवा उत्खनन् गलत भएको र त्यसको निगरानीमा वडा कार्यालय र प्रहरी चुकेको आसय ब्यक्त गरेका छन् । जुन कुरा एक सभ्य नागरिकले खबरदारी गर्नु कुनै दृष्टिले गलत देखिदैन । यस्तो व्यहोराको स्टाटस लेख्दै भिडियो पोष्ट गरेका थिए “यो दृश्य उदयपुरगढी गाउँपालिका–६ दनुवारवेशी स्थीत वैधनाथ खोला पुलमुनीको हो । नदिको केही सय मिटर तलमाथीबाट उत्खनन् गर्न नपाइने भएपनि यहाँ पुलको पिल्लर संगैबाट धमाधम वालुवा निकाल्ने कार्य भैरहेको देखिन्छ । यो स्थानबाट वडा कार्यालय करिब ६ सय मिटारको दुरीमा छ भने प्रहरी चौकी करिब १ किलोमिटरको दुरीमा ”
प्रमाण सहित फेसबुकमा भिडियो पोष्ट गरेपछि प्रहरीले गैरकानुनी कार्यमा सम्लग्नलाई पक्राउ गर्नुपर्नेंमा उल्टै खबरदारी गर्ने युवालाई बोलाएर ५ घण्टा प्रहरी कार्यालयमा उपराधीलाई झै राखेको घिमिरेले गुनासो गरे ।
५ घण्टासम्म प्रहरीले केरकार गर्दासमेत घिमिरेलाई फेरी हाजिर हुनेगरी आफन्तको रोहोवरमा छाडेको छ, भने फेरी शु्क्रवार बोलाएको घिमिरेले जानकारी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक सन्तोष आर्चायले प्रहरीको मिलेमतोमा उत्खनन् भएको आरोप फेसबुकमा लगाएकाले पुष्टि गर्न र प्रमाण माग्न बोलाएर सोधपुछ गरिएको बताए । हाल फेसबुकमा रहेको भन्दा अर्को स्टाटस् प्रहरीले फेला पारेको र सो स्टाटसमा प्रहरीलाई ठाडै आरोप लगाएको प्रहरीको दावी छ ।
