
पूर्णपुष्टि, कार्तिक १५
कराती राजा यलम्बर हाङको शालिक राख्न सयौँ चिहान भत्काईएको भन्दै स्थानीयले बिरोध जनाएको छ । करिब १४ करोडको लगानीमा निर्माण गर्न लागिएको शालिकका लागि सयौँ चिहानहरु भत्काउनु पर्ने भएपछि चिहान भत्काउने कार्य सुरु भएको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाको पञ्चरदोबाटोमा चिहान भत्काइएपछि स्थानीयले विरोध जनाएका हुन् । त्यहाँ यलम्बरको एक सय फिट अग्लो शालिक राखिँदैछ ।
विरोधकै कारण ७ कात्तिकदेखि शालिक तथा पार्क निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
२ कात्तिकमा शालिक तथा यलम्बर पार्क शिलान्यास गरिएको थियो । १५–२० वटा चिहान भत्काउने र कंकाल,अवशेष संकलन गरेर आत्मघर बनाएर राख्ने भनिए पनि एक सयभन्दा बढी चिहान भत्काइएको नवगठित भूमिपुत्र किरात उपभोक्ता समितिका डार्विन राईले बताए । चिहान भत्काइएपछि उपभोक्ता समितिमा आवद्ध स्थानीय विरोधमा उत्रिएका छन् ।
तर, बुईपाका वडाध्यक्ष दिनेश राईले चिहानको व्यवस्थापन गर्ने सहमतिमा काम अघि बढे पनि ‘मान्छे उचालेर’ विवाद निकालिएको बताए् । साविकको बुईपा–३, ५, ९ लगायतका राई समुदायले सो स्थानमा चिहान बनाएका छन् । त्यहाँ करिब २ सय ८८ चिहान छन् ।
