
पूर्णपुष्टि, असोज १२ । पूर्वी नेपालका विभिन्न जिल्लामा खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना बेपत्ता भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार इलाम, झापा र मोरङमा यी घटनाहरू भएका हुन् ।
इलामको माई नगरपालिका–८ मा असोज शुक्रबार ६८ वर्षीय मैत बहादुर लिम्बुलाई सेते खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरे पनि उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापाको कचनकवल गाउँपालिका–१ मा १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ । सोही जिल्लाको कमल गाउँपालिका–१ का ३५ वर्षीय टिकाराम चौधरी कृष्णे खोलामा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका छन् । गौरीगंज गाउँपालिका–२ का ५५ वर्षीय केनालाल राजवंशी पनि कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन् ।
मोरङको रतुवामाई नगरपालिका–७ की ७२ वर्षीया डुरो देवी राजबंशी असोज १० गते रातुवा खोला तर्दा बगाएर बेपत्ता भएकी छिन् । उनी झापाको गौरादहबाट मोरङको सिजुवा आउने क्रममा खोला तर्दै गर्दा बेपत्ता भएकी हुन् । बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
