
पूर्णपुष्टि,फागुन १६
एक २४ बर्षीया युवतीलाई कुटपिट गरी गर्भपतन गराएको आरोपमा हिजो सप्तरीका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ । महादेवा गाउँपालिका–४ का ५८ वर्षीय लक्ष्मण राउत बरै, ६५ वर्षीय रामजी साह र २७ वर्षीय श्याम राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय २४ वर्षीया पुनितादेवी यादवलाई कुटपिट गरी गर्भपतन गराएको आरोमा उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
आरोपित मध्ये तीन पक्राउ परेको जानकारी दिँदै इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी निरीक्षक नरेश कुमार सिंहले सोही ठाउँका आरोपित ४० वर्षीय सुरेन्द्र साह फरार रहेकाले खोजतलास भइरहेको बताउनु भयो ।

आफ्नो खेतमा बालीनाली हेर्न फागुन ६ गते दिउँसो गएका बेला आरोपितहरूले गहुँबारीमा घाँस काट्ने बहानामा आफ्नो खेतको गहुँ काटिरहेको देखी निजहरुलाई रोक्न खोज्दा कुटपिट गरेको पीडित यादवले बताउनुभयो ।
आरोपितहरूको कुटपिटबाट पेटमा रहेको १६ हप्ताको गर्भ खेर गएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा दिएको उजुरीमाथि थप अनुसन्धान र कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
