Thursday, May 28News That Matters

गाइघाट आसपास बजारमा लकडाउनकाे अवज्ञा

पूर्णपुष्टि, बैशाख ४ ।

लकडाउनमा उदयपुरको सदुरमुकाम गाइघाट बजारमा मानवीय चहलपहल प्रायः सुन्य देखिएपनि आसपासका साना बजारहरुमा साँझ र विहान मानिसहरुको चहलपहल र भीड हुने गरेको पाइएको छ ।

मोतिगडा, मिलनचौक, बगाहा, ढल्केबरचौक, देउरी, जलजले जस्ता बजारहरुमा मानिसको भिडभाड देखिने गरेको छ । बजारमा अनियन्त्रित भिडभाडका कारण सामाजिक दुरी कायम छैन ।

मोतिगडा चौकमा साँझ र विहानपख सानातिना हाट बजार जत्तिकै मानवीय चहलपहल र भीडभाड हुने गरेको स्थानीयले बताएका छन् । त्यस्तै जलजले बजारमा पनि भीड हुने गरेको छ । पसलहरुमा ग्राहकलाई दुरी काम राख्न केही ठाउँमा ठोरी टाँगिएको र जमिनमा घेरा हालेको पाइए पनि व्यवहारिकरुपमा प्रयोग गरेको नपाइएको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताउनुभयो ।

गाइघाट बजारमा कडाइ गरिरहेका प्रहरीको नजर त्यसतर्फ पुग्नु पर्ने स्थानीयको माग छ । ती बजारहरुमा प्रहरीको गस्ती हुने भएपनि भीड नियन्त्रणमा पहल नदेखिएको स्थानीयको गुनासो छ । ती बजारहरुमा धेरैजसो मानिस किनमेल भन्दा पनि हावा खादै हिड्न, रमित हेर्न र घुमफिरमा निस्केको पाइएका छन् ।

प्रशासन, घरेलु तथा साना उद्योग, खाद्य तथा गुण नियन्त्रण भिडिजन, त्रियुगा उद्योग वाणिज्य संघ र त्रियुगा नगरपालिका सम्मिलित एक बजार अनुगमन टोलीले बजारको अवस्थाले कोरोना भाइरसको जोखिम बढाएको भन्दै भीडभाड कम गर्न र सामाजिक दुरी कायम गर्न सुझाएको छ ।

कोरोना भाइरसको संक्रमणप्रति उच्च सतर्कता अपनाउनु पर्ने अहिलेको अवस्थामा मुख्य बजारमात्र सुनसान नभएर नहुने, साना बजार र गाउँगाउँसम्म लकडाउनको पूर्ण पालना हुनुपर्दछ । यस कुराप्रति नागरिकहरु आफै सचेत हुनु आवश्यक छ । सामाजिक अगुवा, जनप्रतिनिधिहरुलेसमेत पहल गर्न आवश्यक छ । ती ठाउँहरुमा सामाजिक अगुवा तथा जनप्रतिनिधिहरुको भूमिका कमी देखिएको छ । अवका दिनमा यस्ता लापरवाही गर्नु समाजलाई नै जोखिममा पार्नु भएकाले नागरिक समाज, जनप्रतिनिधि, बुद्धिजिविहरुले त्यसलाई रोक्न पहल गर्न जरुरी छ भने प्रहरीले ती क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले ती ठाउँहरुमा प्रहरी परिचालन भईरहेको भएपनि नागरिकहरुले पालना गर्नुपर्ने अनुशासनमा कमी देखिएको बताउनुभयो । लकडाउन आफ्नाे सुरक्षाको लागि हो भन्ने नबुझिदिदा भिडभाड लाग्ने, बाहिर निस्कने गरेको पाइएकाे बताउनुभयाे । त्यस्ता ठाउँमा प्रहरी परिचालन गरी कडाइ गरिने उहाँले बताउनुभयो ।