
पूर्णपुष्टि, साउन २७
कोरोना संक्रमित बोक्ने सवारी साधनको अभावले त्रियुगा नगरपालिकाका आज कोरोना संक्रमण पुष्टि भएका आठ जनालाई उपचारका लागी अस्पताल लान सकिएको छैन ।
उदयपुरको कोरोना अस्पतालको रुपमा चौदण्डिगढीको सातधारेमा बनाईएको आईसोलेशनमा लैजानु पर्नेमा सवारी साधनको अभाव भएपछि लान नसकिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । कोरोना संक्रमित विरामी ओसारपसारका लागी प्रयोग हुदै आएको गाडी विग्रिएकाले संक्रमितलाई लैजान समस्या परेको उहाँले बताउनुभयो ।
गाडी मर्मतका लागी गाईघाटको एक ग्यारेजमा दिईएको तर आज अवेरसम्म पनि मर्मत भैसकेको छैन । भोलिसम्ममा बनाएर भएपनि संक्रमितहरुलाई लगीने प्रमुख सुवेदीले बताउनुभयो । संक्रमित बोक्नका लागी अन्य सवारी साधन सहज रुपमा पाउन नसकिएको पनि उहाँले बताउनुभयो ।
कोरोना पुष्टि भएपछि सवैलाई आ–आफ्नै घरमा सुरक्षित रहन भनिएको छ । संक्रमित पुष्टि भएकाहरु उपचारमा जान नपाउदा भने मानसिक तनावमा परेको र समुदायमा त्रास पैदा भएको छ ।
सम्बन्धित निकायले संक्रमितलाई बोक्ने सवारी साधन समयमै चुस्त दुरुस्त राख्नु पर्ने र संक्रमण पुष्टि भए लगतै अस्पताल पुर्याउन सर्वसाधरणको माग छ । समयमै अस्पताल पुगेको खण्डमा कोरोना संक्रमितलाई पनि सान्तोना मिल्ने भएकाले पनि यस्तो कुरामा सम्बन्धित निकायको लापर्वाही हुन नहुने संक्रमितहरुको भनाई छ ।
उता बेलकाका संक्रमित सातै जनालाई बेल्टार (सातधारे) आईसोलेसन लागी सकिएको जनाईएको छ । हाल बेल्टारमा खोटाङ्का एकसहित १२ जना रहेको र गाईघाटको आठ जना लगीएपछि २० जना हुने प्रमुख सुवेदीले बताउनुभयो ।
