
पूर्णपुष्टि, जेठ ३१ । उदयपुरको सदरमुकाम गाईघाटस्थित फलफुल बजारमा रहेको तरकारी व्यवसायीलाई सगरमाथा कृषी बजारमा सारिने भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाटमामा रहेको फलफुल बजारका तरकारी व्यवसायीलाई त्रिनपा–१३ स्थितमा रहेको बजारमा सारिने भएको हो ।
त्रियुगा उद्योग वाणिज्य संघको समन्वयमा साउन १ देखि फलफुल बजारमा व्यावसाय गर्दै आएका तरकारी व्यापारीहरुलाई सगरमाथा कृषी बजारमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
कृषी बजारमा रहेको सटर, भाडादर मुल्याङ्कन एवम् तत्कालिन समितिले हालसम्म गरेका कार्यहरुको प्रगतिको मुल्याङ्कन र कृषी बजार व्यवस्थापन तथा संचालनको लागि राय, सुझाव पेश गर्नको लागी ५ जनाको सदस्य समिति गठन गरिएको छ ।
त्रियुगा नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नविन कुमार चौधरीको संयोजकमा ५ सदस्यि समिति गठन गरिएको छ । समितिमा वडा अध्यक्ष चौधरी सहित प्रशासन शाखा प्रमुख घनश्याम पोखरेल, राजश्व शाखा प्रमुख ई रुपक तिम्सीना, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली र तरकारी व्यवसायी प्रतिनिधि दशरथ प्रसाद साह रहेका छन् । समितिले २०८१ असार १ गतेदेखी असार १५ गते भित्रमा त्रियुगा नगरपालिकाको कार्यालयमा प्रतिवेदन पेश गर्नु पर्नेछ ।
तरकारी बजारका लागि त्रियुगा नगरपालिका १३ मा रहेको सगरमाथा तरकारी बजारको स्थान तोकिएपनि पछिल्लो समय पुरानो नगर प्रहरी छेउ तरकारी बजार भरिभराउ हुन थालेका थिए । यसको प्रत्यक्ष असर त्रियुगा सगरमाथा तरकारी बजारमा परेपछि त्यहाँका तरकारी व्यवसायीहरुले बिरोध गर्दै आएका थिए ।
तरकारी बजार व्यवस्थापनका लागि त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार वस्नेत र वडा अध्यक्ष सुमन्त कोईरालाले भुमिका नखेलेको आरोप थियो । सगरमाथा तरकारी बजारका व्यवसायी सहित त्रियुगाका जनप्रतिनिधि र त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको समन्वयमा अन्य स्थानमा रहेका तरकारी बजारहरु पनि सगरमाथा तरकारी बजारमै व्यवस्थापन गरिने निर्णय गरिएको छ ।

