
पूर्णपुष्टि, भदौ १५ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) त्रियुगा वडा नं. १२ को आयोजनामा हरितालिका तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
नेकपा (माओवादी केन्द्र) १२ नं. वडा पार्टी कमिटि र अनेम संघ (क्रान्तिकारी) त्रियुगाको समन्वयमा आयोजित उक्त कार्यक्रम शनिबार होटल टाउन हलमा सम्पन्न भयो। कार्यक्रममा विशेष गरी महिलाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कोशी प्रदेशकी सांसद सम्झना पाख्रिन प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। त्यसैगरी माओवादी केन्द्र त्रियुगा नगर कमिटिका इन्चार्ज विमल किराती, पार्टीका प्रदेश सदस्य निरज पौडेल र त्रियुगा नगर कमिटिका अध्यक्ष मान बहादुर राई लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पाख्रिन लगायत अन्य अतिथिहरूले हरितालिका तीजको अवसरमा उपस्थित सबैलाई शुभकामना दिएका थिए। यस अवसरमा वक्ताहरूले महिला अधिकार र सशक्तीकरणको महत्त्वमाथि जोड दिएका थिए।
नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको यो कार्यक्रमले समुदायमा एकता र सद्भाव बढाउन मद्दत पुर्याएको आयोजकहरूले बताए। यस्ता कार्यक्रमहरूले महिलाहरूलाई एकजुट हुने र आफ्ना अनुभवहरू साटासाट गर्ने अवसर प्रदान गर्ने उनीहरूको भनाइ छ।


