
पूर्णपुष्टि, पौष २३
उदयपुरको गाईघाटमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष के.पी.ओली पक्षका विद्यार्थीहरुले बुधवार प्रदर्शन गरेका छन् ।
पार्टी विवाद पछि दहाल–नेपाल समुहका कार्यकर्ताहरुले पटक–पटक प्रदर्शन गरेपनि ओली समुहको भने यो पहिलो प्रदर्शन हो ।
संसद विघटन प्रधानमन्त्रीको स्वागतयोग्य कदम भएको भन्दै जिल्लाका त्रियुगा, चौदण्डिगढी, बेलका र कटारी नगरपालिकाबाट बस र मोटरसाईकलमा आएका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
गाईघाटको लोकतान्त्रिक चौकबाट निकालिएको भण्डै दुई हजारको सङ्ख्यामा आएका विद्यार्थीहरुको ¥याली टाउन पार्टीप्यालेसमा पुगी सभामा परिणत भएको थियो ।
सभालाई राष्ट्रिय युवा संघका सह–संयोजक रमेश पौडेल, अनेरास्ववियुका उपाध्यक्ष शैलेश लामा लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
वक्ताहरुले राष्ट्रियताको पक्षमा काम गर्दा केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने षडयन्त्र भएकोले जनतामा जाने जायज निर्णय भएको बताए । उनीहरुले प्रधानमन्त्री ओलीकै समुहमा नेकपा र सूर्य चिन्ह रहने र ओली समुह नै आधिकारिक नेकपा भएको दाबी गरेका थिए ।
