Thursday, April 30News That Matters

गाईघाटमा खाईरहेको आइसक्रीममा किरा फेला, उत्पादन गर्ने उद्योगलाई कारवाहिको तयारी

भेटियो पूर्णपुष्टि÷गाईघाट, असोज १३ । उदयपुरको सदरमुकाम गाईघाटमा बालबालिकाले खाइरहेको आइसक्रीमभित्र मरेको अवस्थामा किरा भेटिएको छ । आइतबार दिउँसो बजार नजिकैको सडक छेउमा राखिएको पसलबाट खरिद गरिएको आइसक्रीममा कालो रङका मरेका किरा फेला परेको हो ।

बालबालिकाले सन्तोषी आइसक्रीम उद्योग गाईघाटबाट उत्पादन भएको आइसक्रीम खाइरहेको बेला बाहिरबाटै देखिने गरी दुईवटा किरा जमेर बसेको अवस्थामा फेला परेको गङ्गा राईले बताईन् । यस उद्योगले उत्पादन गरेको आइसक्रीम गाईघाट बजारको विभिन्न पसलमा बिक्री हुँदै आएको छ ।

घटनाको जानकारी पाएलगत्तै त्रियुगा नगरपालिकाले तत्काल कारबाही गर्ने तयारी शुरू गरेको छ । नगरपालिकाका मेयर बसन्त बस्नेतले अहिले दशैं बिदाको समय भएकोले सबै प्रमाण सङ्कलन गरी राखिएको र छिट्टै कारबाहीको प्रक्रिया अघि बढाइने बताउनुभयो । ‘हामीले सबै प्रमाणहरू सङ्कलन गरिसकेका छौं । दशैं बिदा सकिएपछि यस्तो लापरबाही गर्ने उद्योगलाई कडा कारबाही गरिनेछ,’ मेयर बस्नेतले भन्नुभयो ।