
पूर्णपुष्टि, जेष्ठ ९
प्यूठानमा घर भत्किँदा एकै परिवारका आमा, बुवा छोराको ज्यान गएको छ । नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा घर भत्किँदा ४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमति गमी मल्ल र उनीहरूका ३ वर्षीय छोरा शिशीर मल्लको घटनास्थलमै ज्यान गएको हो ।
घटना राति घटेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । प्रहरीका अनुसार बिहान साढे ७ बजे मात्रै मामा घरबाट जेठी छोरी फर्किएर आएपछि घटनाबारे थाहा भएको हो ।
मल्लकी अन्दाजी १६ वर्षीया जेठी छोरी शनिबार बेलुका नै मामा घर गएकी थिइन् । उनी बिहान घर फर्किदा बुबा आमा नदेखेपछि छरछिमेकलाई खोजीका लागि गुहार मागेकी थिइन् । प्रहरी घटनास्थल पुग्दा तीनै जनाको मृत्यु भइसकेको थियो ।
प्रहरीका अनुसार सोही घरको छुट्टै कोठामा सुतेका मल्लका थप ३ छोरीहरू भने सकुशल रहेको जानकारी दिएको छ । अन्दाजी ८ देखि १०,११ वर्षका तीन छोरी भने अलगै कोठामा सुतेको र उनीहरुले घटनाबारे बिहानसम्म थाहा नपाएको अवस्था देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मल्ल परिवारले फुस (खर) को छाना हटाएर जस्तापाता लगाउन शनिबार मात्रै छाना निकालेका थिए। दिउँसो पानी परे पनि राति पानी परेको थिएन । मल्ल परिवार सोही घरमा माथि त्रिपाल राखेर सुतेका थिए।
त्यसरी सुतेका बुबा, आमा र छोरालाई माथिल्लो तला खसेर च्यापेपछि ज्यना गए पनि अर्कौ छुट्टै कोठामा सुतेका बच्चाहरूले घटनासमेत थाहा नपाएको प्रहरीले जनाएको छ ।
शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बिजुवारमा लगिने प्रहरीले जनाएको छ ।
