
पूर्णपुष्टि, बैशाख २७ गते ।
डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमङ्गल प्रसादलाई घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ । सूर्यगढी गाउँपालिका–५ नयाँपुलमा रहेको ढुङ्गा खानी सञ्चालन गर्न दिन एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ ।
कार्यालय प्रमुख जयमङ्गललाई आवश्यक कारबाहीको लागि काठमाण्डौ लगिएको जनाईएको छ । दुई दिनअघि स्थानीयवासीले उद्धार गरी बुझाएको घोरल कार्यालय परिसरबाटै बेपत्ता भएपछि डिभिजन वन कार्यालय विवादमा तानिएको थियो ।
गत वैशाख २४ गते पञ्चकन्या गाउँपालिका–५ त्रिवेणीधाम क्षेत्रमा आएको घोरल स्थानीयवासीले समातेर वन कार्यालयमा बुझाएको थियो । तर त्यही राती घोरलले खोर भत्काएर भागेको कार्यालयले जनाएको छ ।
