Thursday, June 18News That Matters

घुस लिएको भिडियो फेला, सहायक वन अधिकृत यादव निलम्वित

पूर्णपुष्टि, चैत १० । उद्योग पर्यटन तथा वन मन्त्रालयले पर्साका सहायक वन अधिकृत रामप्रसाद यादवलाई घुस लिएको आरोपमा निलम्बन गरेको छ । घुस लिएको भिडियो फेला परेपछि उनलाई निलम्बन गरी अनुसन्धान अघि बढाईएको राज्यमन्त्री रहबर अन्सारीले बताए ।

वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेपछि यादवलाई ६० दिनका लागि निलम्बन गरिएको उनले बताए । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए ।

यही चैत ६ गते साह पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेपछि मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै झण्डै ४ लाख रुपैयाँ लिइसकेको यादवमाथि आरोप छ । यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए । त्यस सम्बन्धी विभिन्न अडियो प्रमाण समेत भेटिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफूविरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको हो ।