Friday, May 1News That Matters

चराको प्यासमा कटारीको साथ : घरघरमा पानीको व्यवस्था

पूर्णपुष्टि, असार २२ । उदयपुरको कटारी नगरपालिकामा चरा संरक्षणको अनौठो अभियान सुरु भएको छ। अत्यधिक गर्मीका कारण चराहरूलाई पानीको अभाव नहोस् भन्ने उद्देश्यले घरघरमा पानी राख्न थालिएको हो।

पंक्षी संरक्षण समाज, कटारीका सदस्य अनुष्का सुवेदीका अनुसार, उनीहरूले कटारी बजार आसपासका घरहरूमा ८० थान चराको लागि पानी राख्ने भाँडा वितरण गरेका छन्। ‘खडेरीमा चराहरूले पानी नपाउन सक्छन्, त्यसैले पानीका लागि भाँडा दिएको छौं। उनीहरूले घर वरपर र छतहरूमा पानी राखिदिन्छन्,’ सुवेदीले बताइन्।

प्राकृतिक स्रोत व्यवस्थापन कलेज कटारीमा अध्ययनरत विद्यार्थीहरूको समूह पंक्षी संरक्षण समाजले यस क्षेत्रमा चराहरू सम्बन्धि अध्ययन गरिरहेको छ। उनीहरूका अनुसार यस क्षेत्रमा दुई सय प्रजातिका चराहरू पाइने रहेछन्। डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) का वन अधिकृत हिरालाल शर्माले चरा संरक्षणको महत्त्व बताउँदै भने, ‘चरा जोगाउन सकियो भने यसले पारिस्थितिक प्रणालीमा सुधार ल्याउन र पर्यटनलाई प्रवर्द्धन गर्न सघाउ पुर्याउँछ।’ कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध साहका अनुसार, समाजको सहकार्यमा विभिन्न वन उपभोक्ता समितिका सदस्यहरू तथा स्थानीय बस्तीहरूमा चराहरू जोगाउन सचेतनामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको छ।

सुगाजोर सामुदायिक वन उपभोक्ता समूह कटारी, ५ का अध्यक्ष प्रताप अधिकारीले स्थानीय उपभोक्ताहरू पनि चरा जोगाउन लागि परेको बताए। ‘उपभोक्ताहरूले चरा जोगाउन घरघरमा पानी राख्न थालेका छन्,’ उनले भने, ‘चराचुरुङ्गी बिना त गाउँघरको कल्पना पनि त गर्न सकिन्न नि।’ स्थानीयवासीहरूका अनुसार यस क्षेत्रमा साइबेरियन चराहरू समेत आइपुग्ने गरेको छ। यसरी कटारीमा चरा संरक्षणको अभियानले स्थानीय जैविक विविधता र पर्यावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउने आशा गरिएको छ।