Thursday, May 7News That Matters

चाडपर्वमा सुरक्षा संयन्त्र कडा

उदयपुर, असोज ८ गते । 

नेपालीहरुको महान चाड दशैँ, तिहार र छैटको पूर्वसन्ध्यामा सुरक्षा निकायले सुरक्षा संयन्त्र कडा बनाउने भएको छ । चाड पर्वको बेला अपराधीक क्रियाकलाप बढी हुने भएकाले शान्ति सुरक्षालाई मध्ये नजर गर्दै जिल्ला प्रशासन र जिल्ला प्रहरीले सुरक्ष संयन्त्र कडा बनाउने भएको हो ।

समाजमा घट्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्नका लागि विभिन्न खालको प्रहरी युनिटहरु परिचालन गर्ने जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्लामा करिब ३४ वटा प्रहरी युनिट परिचालन गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) वीरबहादुर बुढा मगरले बताए ।

नेपाल सरकारले प्रतिबन्ध लगाएका समुहले चाड पर्वको मौका छोपी पहाडी क्षेत्रमा विभिन्न खालको सरसामान ओसार पसार गर्न सक्ने भएकाले ठाउँ ठाउँमा २४ सै घण्टा चेकजाँच गर्ने र गत वर्षहरुमा सवारी साधनबाट नै चाड पर्व मनाउन घर फर्कने यात्रू ठगिने भएकाले सहायता कक्ष समेत राखिने एसपी बुढा मगरले बताए ।

प्रहरीले चारपाङ्ग्रे, दुई पाङ्ग्रे र पैदल लगायतका गस्ति गर्ने छन् । त्यसमा २३ युनिट प्रहरीले पैदल गस्ति गर्ने योजना बनाएको एसपी बुढा मगरले बताए । जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा २४ सै घण्टा चेकजाँच र सवारी साधन र यात्रुलाई समेत चेकजाँच गरिने उनले बताए ।

चाड पर्वमा फरार अपराधिहरु पनि घर फर्कने भएकाले प्रहरीले त्यस तर्फ पनि विशेष ध्यान दिने छ । जिल्लाको १३ ठाउँमा चेकजाँच गरिने छ भने ६ ठाउँमा ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले चेकजाँच गर्ने एसपी बुढा मगरले बताए ।

तास जुवा जन्य खेल, विस्फोटक पर्दाथ, लागुपदार्थ, हिंसात्मक गतिविधी नियन्त्रण गर्ने उद्देश्यका साथ विशेष योजनामा नै गस्ति गर्ने एसपी बुढामगरले बताए । सशस्त्र प्रहरी बलसँग समन्वयन गरेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको संयुक्त गस्ति गर्ने उनले बताए ।

चाडपर्वमा व्यापारीहरुले अखाद्य वस्तु विक्रि वितरण गर्ने जनगुनासोलाई विशेष ध्यानमा राख्दै निगारनी राख्ने जिल्ला अधिकारी ध्रुबबहादुर खड्काले बताए । प्रत्येक पालिकाको उपाध्यक्ष तथा उपमेयरको नेतृत्वमा पालिका स्तरीय बजर अनुगमन हुने व्यावस्थालाई जोड दिने जिल्ला अधिकारी खड्काले बताए ।