
पूर्णपुष्टि, बैशाख ७ गते ।
ट्याङ्कर चालकले पेट्रोलमा पानी मिसाएको खुल्न आएको छ । नेपाल आयल निगमको थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुलेको हो ।
शुक्रबार पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले पानी मिसाएको पुष्टि भएको निगमले जनाएको छ । शनिबार बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको पाईएको पेट्रोल पम्पले जनाएको छ ।
पेट्रोलमा पानी मिसाएको देखिएपछि पम्पले थानकोटको डिपोलाई खबर गरेको थियो । पेट्रोलमा पानी देखिएपछि विक्रि वितरण बन्द गरिएको छ ।
घटनाको बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमले जनाएको हो । टयाङ्कर चालकलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
