
पूर्णपुष्टि, भदौ २९ । मकवानपुरका चिकित्सकमाथि कुटपिट गरेको बिरोधमा उदयपुर जिल्ला अस्पतालले आकास्मिक बाहेक अरु सेवा बन्द गरेको छ । बुधबार हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गरेको विरुद्ध उदयपुर अस्पतालका डाक्टरहरुले शुक्रबार सेवा ठप्प पारेका हुन् ।
बिहिबार जिल्ला अस्पतालका डाक्टरहरुले चिकित्सकहरुमाथि सांघातिक हमला भएको सिसिटिभि फुटेजमा समेत देखिएको र स्वास्थ्य संस्था जस्तो संवेदनसिल क्षेत्रमा यस्ता किसिमका गतिविधि जुनसुकै अस्पताल र जोसुकैलाई जतिबेला पनि पर्न सक्ने भएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्य कर्मी तथा कर्मचारीलाई सुरक्षाको प्रत्याभुती नभएकोले दोषीलाई कारर्वाही नभएसम्मको लागी मानसिक रुपले विक्षप्त अवस्थामा विरामी हेर्न असमर्थ रहेको पत्र जिल्ला प्रशासक कार्यालयलाई लेखेका थिए । शुक्रबारबाट आकास्मिक सेवा बाहेकका सम्पुर्ण सेवाहरु बन्द गर्ने निर्णय सम्पूर्ण चिकित्सक सहमत हुँदै हस्ताक्षर गरेका छन् ।
शुक्रबार विहानदेखि टिकट काउन्टर बन्द भएकाले सँधै भिडभाड हुने जिल्ला अस्पताल सुनसान रहेको छ । अस्पताल आएका सेवाग्राहीहरु काउन्टर बन्द देखेर फर्केका थिए । नियमित औषधि सेवन गर्ने तथा चेकजाँच गर्ने सेवाग्राहीलाई अस्पताल बन्दले मार्कामा पारेको सेवाग्राहीहरुको गुनासो छ । चिकित्सकमाथि कार्यकक्षमै हातपात गर्नु घोर अन्याय भएको भन्दै त्यस्तो गतिबिधिबिरुद्ध देशव्यापी आन्दोलन गर्ने स्वास्थ्यकर्मी संघको घोषित कार्यक्रम अनुसार जिल्ला अस्पतालको सेवा पनि ठप्प पारिएको हो ।
