Wednesday, June 17News That Matters

चितवनमा लिम्बु समुदायको राष्ट्रिय सम्मेलन हुने

पूर्णपुष्टि, फागुन ६ । चितवनमा लिम्बु समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन हुने भएको छ । सम्मेलन यहि फागुन ७ र ८ गते हुने भएको छ ।

चुम्लुङका महासचिव निरन्ती तुम्बापोले सम्मेलनमा १३ जिल्लाका दुई सय ८८ प्रतिनिधिको सहभागिता रहने बताईन् । साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव तुम्बापोले जानकारी दिइन् । उनका अनुसार सम्मेलनमा ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुने छ ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी जनसङ्ख्या रहेको चुम्लुङका उपाध्यक्ष कमल लिम्बूले बताए । २०४६ सालमा स्थापना भएको यस संस्थाको उदेश्य किरातीको भाषा र संस्कृति जगेर्ना गर्नु थियो । यहाँ एक हजारको हाराहारीमा लिम्बू समुदायको बसोबास छ । पूर्वी पहाडी जिल्लामा बढी बसोबास गर्ने लिम्बू समुदाय पछिल्लो समय सहरी र तराई क्षेत्रमा बसोबास गर्दै आएका छन् ।