Sunday, June 28News That Matters

चिनमा फेरी प्लेग भेटियो

पूर्णपुष्टि, असार २५

चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएको छ । प्लेग संक्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेको छ ।

बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ र उनको स्थिति स्थिर छ । उनी गोठाला भएको जनाईएको छ ।

चारमध्ये तेस्रो तहको चेतावनी जारी गरेको अधिकारीहरूले जनाएका छन् । ब्याक्टेरियाको सङ्क्रमणबाट हुने ब्यूबनिक प्लेग घातक बन्न सक्छ । तर उपलब्ध एन्टीबायोटिकको प्रयोगबाट उपचार सम्भव छ । बायान्नुर स्थित एउटा अस्पतालमा गएका ती व्यक्तिमा शनिवार प्लेग भएको आशङ्का गरिएको थियो । तर उनलाई कसरी सङ्क्रमण भयो भन्ने स्पष्ट छैन ।

तेस्रो तहको चेतावनी जारी भएपछि प्लेग सार्न सक्ने जीवजन्तुको सिकार गर्न र तिनको मासु खान रोक लागेको छ । सङ्क्रमण भएको शङ्का लागेमा अधिकारीहरूलाई सूचित गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

प्लेग कसरी फैलिन्छ ?

सन् २०१७ मा म्याडग्यासकरमा ३ सय जनाभन्दा बढी मानिसमा प्लेग भएको थियो । गत वर्ष मे महिनामा चीनको छिमेकी देश मङ्गोलियामा २ जना प्लेगका कारण मृत्यु भयो । मार्मट नामक जङ्गली जीवको काँचो मासु खाएपछि उनीहरूलाई प्लेग भएको थियो ।

त्यहाँ मार्मटको काँचो मासु र मिर्गौला खाँदा स्वास्थ्य भइने अन्दविश्वास भएको मङ्गोलियाको राजधानीमा कार्यरत विश्व स्वास्थ्य सङ्गठनका एक अधिकारीले जनाएका छन् । तर उक्त जीवको सिकार अवैध हो । मार्मटले प्लेग लगाउने सूक्ष्मजीव बोकेको हुन्छ र मङ्गोलियामा फेला परेका सङ्क्रमितहरूसँग यसको सम्बन्ध देखिएको छ ।

प्लेग महामारी फैलिन सक्छ ?

प्लेग भएपछि लिम्फ नोड अर्थात् जसीका ग्रन्थिहरू सुनिन्छन् । सङ्क्रमण भएको तीन दिनदेखि सात दिनसम्म रुघाखोकीजस्तो समस्या देखिने हुँदा प्रारम्भिक चरणमा यो रोगको लक्षण चिन्न गाह्रो हुन्छ । तर ब्यूबनिक प्लेग महामारी बनेर फैलिने सम्भावना न्यून हुन्छ ।

चौधौँ शताब्दीको तुलनामा अहिले यो रोग कसरी सर्छ भन्ने थाहा छ । सङ्क्रमण भएका बिरामीको पनि प्रभावकारी एन्टीबायोटिक प्रयोग गरेर उपचार गर्न सकिन्छ ।

चौधौँ शताब्दीमा उक्त रोगका कारण अफ्रिका, एशिया र युरोपमा झन्डै ५ करोड मानिसको मृत्यु भएको थियो । सन् १६६५ मा प्लेग महामारीका कारण लन्डनमा बसोबास गर्ने २० प्रतिशत मानिसले ज्यान गुमाएका थिए ।

उन्नाइसौँ शताब्दीमा चीन र भारतमा महामारी फैलिँदा १ करोड २० लाखभन्दा बढी मानिसको मृत्यु भएको थियो ।