Sunday, July 19News That Matters

चीनले दिएको खोप ४० देखि ५९ वर्षकालाई लगाइने

पूर्णपुष्टि, चैत १९ 

चीन सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको ‘भेरोसेल’ खोप सरकारले ४० देखि ५९ वर्ष उमेरका व्यक्तिलाई लगाउने निर्णय गरेको छ ।

इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले पूर्वाधारको हिसाबले अस्पताल छनोट गरी ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पूर्वाधारको हिसाबले उपयुक्त अस्पतालबाट ती उमेर समूहका व्यक्तिलाई चाँडै नै खोप दिइने छ । यसअघि सरकारले दोस्रो खोप अभियानअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरेको थियो ।

चीन सरकारले आठ लाख मात्रा भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । ‘भेरोसेल’ खोप नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट यही चैत १६ गते नेपालमा ल्याइएको थियो ।

नेपालमा अहिले पाँच लाख ४८ हजार मात्रा ‘कोभिशिल्ड’ र चीनबाट प्राप्त आठ लाख मात्रा ‘भेरोसेल’ खोप रहेको छ । सङ्घअन्तर्गतका प्रादेशिक, जिल्ला अस्पताल र सबै आधारभूत अस्पतालमा कोभिड– १९ को सबै उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।