पूर्णपुष्टि, कार्तिक १६ गते ।
त्रिभूवन विश्वविद्यालयले चुनाकको समयमा एक हप्ता विदा दिने तयारी गरेको छ ।
आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावको समयमा विदा दिने सुझाव आएकोले विदा दिने तयारी भइरहेको शिक्षाध्यक्ष शिवलाल भूसालले जनाए ।
चुनावका बेला विद्यार्थीहरु पनि मतदान गर्न जाने भएकोले र कतिपय क्याम्पसहरुमा मतदान केन्द्रहरु परेको भएकोले एक हप्ता विदा दिने तयारी रहेको भूसाल बताउँछन् ।
उनले भने ‘त्यसबेला विद्यार्थी पनि जान आउन परो । क्याम्पसहरुमा पोलिङ सेन्टरहरु परेकोले एक हप्ता विदा दिने तयारी हो ।’ उनको भनाई अनुसार विदा कहिलेदेखि कहिलेसम्म दिने भन्ने निर्णय भइनसके पनि मंसिर १ देखि ६ सम्म विदा हुने सम्भावना रहेको छ ।
विद्यार्थीहरुले जाडो बिदा चुनावको समयमा दिन आग्रह गरेपनि प्राध्यापकहरुले चुनावको समयमा लामो विदा दिन नहुने सुझाव दिएपछि जाडो महिनाको विदा नियमित समयमा नै दिने र चुनावमा एक हप्ता विदा दिने तयारी गरिरहेको शिक्षाध्यक्ष भूसालले बताए । त्रिविले पुस १५ पछिदेखि जाडो विदा दिँदै आएको छ ।
