
पूर्णपुष्टि, जेष्ठ १९
झापाका बिभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाईकल र मोटरसाईकलसहित चोरीमा संग्लग्न रहेका ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा टिकुली नगरपालिका–५ सप्तरीका २७ बर्षीय करण महमद, झापाको गौरिगञ्ज गाउँपालिका–५ का १८ बर्षीय ओम प्रकाश यादव, अर्जुनधारा नगरपालिका–८ का १८ बर्षीय समिर मिया, बिर्तामोड नगरपालिका–५ का १८ बर्षीय बिष्णु भण्डारी र करण मण्डल यसैगरी बिर्तामोड नगरपालिका–३ का १९ बर्षीय कुमार राजवंशी तथा १८ बर्षीय सुमन बिहारी र ईलाम चुलाचुलीका १८ बर्षीय राहुल श्रेष्ठ रहेका छन् ।
केही दिन देखि झापाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल हराएको भन्ने सूचना पाए संगै चोरीमा सग्लग्नहरु तथा हराएका मोटरसाईकलहरुको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरी आजै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरेको हो । पक्राउ परेको यो समुहले अशोक विहारीको अर्जुनधारा नगरपालिका–८ कदमगाछीमा रहेको ग्यारेज भित्रवाट र अर्जुनधारा १० को अर्को मोटरसाइकल ग्यारेजवाट तथा झापाको अन्य बिभिन्न स्थानवाट मोटरसाईकल चोरी गरेका थिए । यसरी चोरी भएका १२ थान मोटरसाईकल सहित पक्राउ परेको यो समुहको सम्बन्धमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
