
पूर्णपुष्टि, साउन ३ । उदयपुरको चौदण्डिगढी नगरपालिकामा ‘चौदण्डीगढी कोरा साईक्लिङ च्यालेन्ज २०२५’ सुरु भएको छ । चौदण्डीगढी साइकल सिटिको आयोजनामा पहिलो पटक चौदण्डीगढी कोरा साईक्लिङ्ग च्यालेन्ज भएको छ ।
बेल्टार बजारस्थित पुष्पलाल चौकबाट सुरु भएृको च्यालेन्ज धप्पर, माडिबास, गंगटे, वेलकाको सुपाडे, चौदण्डीगढीको शनिवारे, वेलका नगरपालिकाको आम्बासी, त्यसैगरी सप्तकोशी नगरपालिकाको फत्तेपुर, चौदण्डीगढीको सुन्दरपुर, सिवाई, अजगडा, हडिया, ज्यामिरे हुदै बेल्टारस्थित बसपार्कमा पुगेर ५०.५ किलो मिटरको लामो साईकल यात्रा सम्पन्न हुने भएको छ ।
चौदण्डीगढीमा पहिलो पटक भएको कोरा साईक्लिङ च्यालेन्जको उद्घाटन चोदण्डीका मेयर कालुमान लामाले गरेका हुन । चौदण्डीगढी साइकल सिटिका अध्यक्ष अनिल पौडलका अनुसार साइक्लिङ्गलाई खेलको रुपमा विकास गर्ने, साईक्लिङ संस्कृतिको प्रवर्धन गर्ने, स्वास्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज आयोजना गरिएको हो ।
यात्राको क्रममा आन्तरिक पर्यटनलाई प्रबद्र्धन गर्ने तथा साईक्लिङ्ग यात्रीहरुबाट स्वेच्छिकरुपमा आर्थिक संकलनगरी सामाजिक कार्यमा सहयोग गरिने अध्यक्ष पौडेलले बताए । पछिल्लो समय चौदण्डीगढी नगरपालिका क्षेत्रका युवायुवतीहरुको पनि आकर्षण साईक्लिङ्गप्रति बढ्दै गएको छ भने उनीहरु समुह बनाएर सामाजिक कार्यमा समेत सहभागी हुदै आएका छन् । साईक्लिङ्गले स्वस्थ्य जीवनशैली अपनाउन, युवायुवतीहरुलाई लागुऔषधको कुलतबाट टाढा राख्न र समाजप्रति जिम्मेदार बनाउन भुमिका खेल्ने बिश्वास गरिएको छ ।
